विराटनगर । प्रदेश १ को राजधानी विराटनगरबाट संचालित नासा ईन्भेष्टमेन्ट प्रा.लि.को शेयर बजार सम्बन्धी एक दिने सचेतना कार्यक्रम सुदुरपश्चिम कैलाली जिल्लाको धनगढीमा सम्पन्न भएको छ । १२ औं भाग सम्म हुने सो तालिमको चौंथो भाग धनगढीमा सम्पन्न भएको हो ।
शनिवार धनगढी उपमहानगरपालिका २ स्थित ओम प्यालेसको सभाहलमा आयोजना गरिएको सो सचेतना कार्यक्रम नेपाल पूँजीबजार लगानीकर्ता संघ सुदुरपश्चिम प्रदेश समितीको सहकार्य र अर्थ सरोकार डटकमको सह–आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्रा.डा. हेमराज पन्तले नेपालमा शेयर बजार प्रति आम जनताको चासो बढी रहेकोले यस सम्बन्धी सचेतनाको आवश्यकता रहेको बेला नासाद्वारा उठाईएको कदम एकदमै सरहनिय रहेको बताए ।
कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभुत ज्ञान र नासाले गर्ने राष्ट्र तथा अन्तरराष्ट्रिय कार्यक्रमबारे सहभागीहरुलाई जानकारी गराइएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । उनका अनुसार चौंथो चरणको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।
दुई चरणमा सम्पन्न सो कार्यक्रममा नेपाल पूँजीबजार लगानीकर्ता संघ सुदुरपश्चिम प्रदेश समितीका प्रदेश संयोजक कुमार थापा, धनगढी उपमहानगरपालिका वाडा नम्बर २ का वडा सदस्य रत्ना विष्ट, अर्थ सरोकार डटकमका प्रधान सम्पादक तथा सेयर बजार सचेतना कार्यक्रमका अभियनता सुरज प्याकुरेलले शेयर बजारको महत्वबारे प्रकाश पारेका थिए ।