कसले के खान्छ, के पिउँछ, कहाँ जान्छ, के गर्छ ? चियोचर्चो गर्नेहरू खुरापात मात्र होइन सैतान दिमाग भएकै मनुवा हुन । एक मनुवाले कुनै होटलमा गएर मस्तले रक्सी पिए । उनी बाहिर निस्किएर होटलवालालाई सोध्छन्, ‘फलानोले पियो कि पिएन ?’ आफु पिएपछि अरुले पिए नपिएको सोधखोज किन गर्नु भनया ?
होइन के मतलव होला कसैको बारेमा चासो दिन ? कसको घरमा के पाक्छ, कुन तिउनको वासना आउँछ ? माछा पाक्यो कि मासु ? बासमति चामलको भात नै पाक्यो भने पनि के मतलव ? सक्यो खायो नि ’ के मतलव भन्या ? अर्काको बारेमा चियोचर्चो किन गर्नु ? चियोचर्चो गरेर के फाइदा हुन्छ र ?
कुनै पनि होटलमा जानुको मतलव मापसे गर्नु नै होइन । खाजा खान पनि जान सकिन्छ । पंक्तिकारका एक मित्र कफी पिउन र क्यारेमबोर्ड खेल्न होटल जान्छन् । अर्थात् उनको भनाई के छ भने यसबाट उनी रिफ्रेस हुन्छन् । अफिसमा कामको चटारोले थकित भएपछि केहीबेर उनी समय कटाउन त्यहाँ पुगेका हुन्छन् । कसैले रक्सी खानु छ भने खाँदा भयो तर, अरुको चियोचर्चो किन गर्नु ?
व्यक्तिको चासोले व्यक्तिको पहिचान गलत छ भन्ने देखाउँछ । चासो देखाउने प्रशङ्ग हुन्छ । विषय हुन्छ । देखाउनु पर्ने ठाउँमा देखाउनु पनि पर्छ । अनावश्यक कुरामा कसैको बारेमा सोधखोज, जिज्ञासा अनि चियोचर्चो गर्नु राम्रो होइन के ।
मान्छे फरक हुन्छन् र, उनीहरूको स्वाभाव पनि फरक हुन्छ । फरक व्यक्तिका फरक स्वाभावमा कसैले हस्तक्षेप गर्न सक्दैन ।
आफ्नो व्यवहार आफैले गर्ने हो । कसैको घरमा कसैले दानापानी पु¥याउने कुरा हुँदैन । मानविय सेवा बेग्लै कुरा हो तर, कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्नु कुनै हालतमा सही होइन । सुझाव दिन सकियो तर, चियोचर्चो गरेर सोधखोज गर्नु कम्तिमा कुनै मुद्दामा सान्दार हार खानेका हकमा शोभा दिदैन ।
हाम्रो समाजमा चियोचर्चो गर्ने क्रम उधुमै बढेको छ । सामान्य देखि असामान्य कुरामा हस्तक्षेपको क्रम बढेको छ । खानेकुरा मात्र होइन लगाउने कुरा, भौतिक अन्य वस्तु जोगाड गर्ने कुरामा पनि चियोचर्चो हुन्छ ।
चोकमा बसेर कसले कुन लुगा लगायो ? लगाएको कपडा सुहायो वा सुहाएन ? एक्लै वा कसैसित कहाँ हिडेको होला ? के खाएको हो ? ममः खायो कि पिज्जा ? डोसा खायो भने ढोकला किन खाएन ? यस्ता कुरामा जिज्ञासा राख्नुको कुनै अर्थ छैन । यो व्यक्तिमाथिको चरम हस्तक्षेप हो । व्यक्तिको अधिकारमाथि धावा बोल्नु हो । व्यक्तिको नैसर्गिक अधिकार हुन्छ । उसका बारेमा चियो गर्नु भनेको राम्रो होइन ।
यो नकारात्मक बानीलाई त्याग्नु नै उपयुक्त हुन्छ ।
समाजमा काम नभएपछि पनि यस्ता नकारात्मक भावनाहरू आउँछन् । हरेक कुरामा नकारात्मक सोच राख्दा पनि व्यक्तिको चियोचर्चो बढ्ने हो । कुनै पनि कुरा बढ्दै जाँदा आगोको रूप लिन्छ । जब कुनै कुराले आगो ग्रहण गर्छ तब समस्या सुरु हुन्छ । कुरा र चियोचर्चो अनि गलत जिज्ञासा र चासोले झगडाको बिऊ हो । यसलाई पार लगाउनुपर्छ ।
कसैको बारेमा कसैले किन वास्ता गर्नुपर्ने ? सही कुरामा वास्ता नगर्ने अनि गलत कुरामा चासो दिंदा पक्कै पनि बखेडा हुन्छ नै । तपाईं हामीले अनावश्यक चासो दिएका धेरै कुराहरू झगडाको उग्र रुप लिएको थाहा पाएकै हो । त्यसैले आउनुहोस् कसैका बारेमा कुभलो नचिताऔं, कसैका बारेमा चासो नदिऔं । यसको अर्थ यो होइन कि कुनै व्यक्ति संकटमा छ भने चासो नदिने । गंभीर भएर उसलाई सहयोग गर्ने चासो दिनुपर्छ ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।