बुधबार, भाद्र ०९, २०७८ || 728  पटक पढिएको

विराटनगरका चोके बैठकको विशेष अर्थ छ । हरेक विषयमा पोख्त हुने, समाजका सबै क्षेत्रको व्याख्या गर्ने मात्र होइन सुक्ष्म विश्लेषण समेत हुन्छ ।

नासाका बैज्ञानिक समेत फेल खान्छन् चोके गफाडीका अगाडि । यो चोके बैठकले कसलाई प्रधानमन्त्री बनाउँछ, कसलाई राष्ट्रपति अनि मन्त्री बनाउँछ कुनै ठेगान हुन्न । चोके गफका पात्रहरू यतिधेरै जान्ने छन् उनीहरूले नजानेको केही छैन ।
मोरङ कांग्रेसको भावी सभापति को हुन्छ ? सलमान खानले विहे गर्छन वा गर्दैनन् ? दीपाश्री निरौलाको विहे कहिले हुन्छ ? शेरबहादुर देउवाले डा. मीनेन्द्र रिजाललाई मन्त्री बनाउँछन् वा बनाउँदैनन् ?

डिगबहादुर लिम्बू, सलमान खान, दीपाश्री, शेरबहादुर देउवाहरूले गर्ने निर्णय चोके बैठकले गरिदिन्छ । गर्ने मात्र हो र ! दावाका साथ ठोकुवा गर्दिन्छ ।

गंभीर तरिकाले हरेक कुरा मंथन भइरहेका हुन्छन् । कोणकोणबाट विश्लेषण भइरहेको हुन्छ । पंक्तिकार केही बैठकमा गएर कुरा सुनेको छ । वास्तवमै यस्ता विद्धानले किन समाज रूपान्तरणका लागि नेतृत्व नपाएका होलान् ? उनीहरू चोके बैठकमा किन सीमित भएका होलान् ?
राजनीतिक विषयमा अदालतको फैसला कस्तो आउँछ ? फलानी महिलाले छोरा पाउँछिन वा छोरी ठ्याक्कै दावीका साथ उनीहरू भनिदिन सक्छन् । महिलाको हिडाई यस्तो छ, अनुहार यस्तो छ भनेर तर्कसहित जन्मन लागेको सन्तानको लिंगबारे चोके बैठकले निर्णय गर्दिन्छ । प्रशंसा मात्र होइन चोके बैठकले सत्तोसराप पनि गर्छ । व्यक्ति–व्यक्तिका बारेमा चिरफार गरिरहेको हुन्छ । यो खुबीलाई मान्नै पर्छ बा !
चिया पसलमा चिया पिउनु, मर्निङ वाक गरेर साथीभाई भेला हुनु नराम्रो चै कुरा होइन । यो एउटा सूचनाको चौतारी पनि हो । तर, अचम्म के कुरामा भने नजानेको कुरा, नबुझेको कुरा, नदेखेको कुरामा चुप लाग्नु नि !

कानुनको कुनै जानकारी छैन तर, बुँदागत रुपमा व्याख्या गर्छन् । राजनीतिको त कुरै छाडौं । खासगरेर चोके गफमा यतिबेला कांग्रेसजनको भीड बढ्दोछ । निर्वाचन हुँदैछ त्यसैले भोट माग्ने थलो पनि भएको छ चोके बैठक ।

हो, चोके गफले समय कट्छ । यस्ता गफमा यतिधेरै कुरा हुन्छन् कहिले काही त हात हालाहालको अवस्था पनि आउँछ । चिया पसल चलेको छ, थाहा छैन गफ गर्नेहरू चिया पिउँदै हिड्छन पैसा कसले दिन्छ ? सायद कसैले दिन्छ होला र त भीड घटेको हुन्न ।

अरूका कुरा सुन्ने होइन, आफुले मात्र बोल्ने । आफ्ना कुरा मात्र सही ठह¥याउन उद्यत हुने । चोके गफका यी विशेषताले धेरैलाई लठ्याएको छ । लाग्छ यो बैठक प्रतिनिधिसभा वा प्रदेश सभाको संसद भन्दा कम छैन । सांसदहरूले सभामा के बोल्लान् ? त्यतिधेरै तर्क, वितर्क हुन्छन् ।
के बोलिएका सबै कुरा सही हुन्छन् ? नहुन पनि सक्छन् । तर, कसैले कसैलाई यो गलत हो भनेर भन्ने कुरा पनि भएन । जसको स्वर चर्को छ चोके बैठकमा उसैको हालीमुहाली हुन्छ ।

चोकमा बसेर कुरा गर्नु सजिलो छ । अज्ञानताका कुरा ज्ञाता भएर बोल्नु पनि सामान्य हुनसक्छ । तर कुनै विज्ञले उनीहरूको झुटो कुरा सुनेर के प्रतिक्रिया जनाउलान् ? सम्भवतः ज्ञाताहरू त्यस्तो बैठकमा नजान सक्छन् ।
हो, यसरी चोकमा गफ गर्दा कुनै कर लाग्दैन ।

यस्ता विद्धानलाई कुनै पनि योजना संचालन गर्दा विज्ञका रूपमा नियुक्त गर्नुपर्छ । हामीकहाँ विद्धानको कमी छैन । हरेक चोकमा यस्ता आँसु कवि शैलीका योजनाकार छन् ।

एउटा कुरा के भन्न मन लाग्यो भने गफ गर्नु एउटा कुरा हो तर, नजानेको कुरा, नगएको गाउँको कुरा नगर्दा नै बेस हुन्छ । हो, जानेको छ भने त्यसलाई फररर व्याख्या गर्नु बेग्लै कुरा हो । तर, जानेकै छैन, जवरजस्ती जानेको देखाउनु चैं मुर्खता नै हो कि !

यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!