समाजको एक निश्चित समुदायलाई किस्ताले बर्बाद बनाएको छ । एकमुष्ठ रकम उठाउने अनि मासिक दुईपटकसम्म किस्तावापत रकम बुझाउने, त्यो पनि ब्याज दर २५ प्रतिशत पुग्ने गरी ! अनि प्राप्त भएको एकमुष्ठ रकम उत्पादन क्षेत्रमा लगाइन्न । समाजको एक निश्चित समुदाय यसरी नै कंगाल बन्न थालेको छ ।
एक महिलाको कथा यहाँ उल्लेख गर्न मन लाग्यो । यो यथार्थ कुरा हो । पंक्तिकार आफैले देखेको ।
नौलखामार्गस्थित एक परिचितकहाँ एक छलफल कार्यक्रममा थिए । चिया पिएर गफ गरिरहेको बेला ३ जना महिला आए । उनीहरूले दुई÷चार जना बसेर छलफल गरिरहेको देखेर नजिकै आए ।
एक महिलाले भनिन, ‘मेरो लाग्नेलाई कोसी अस्पतालमा राखेको छ, सिकिस्त विरामी परेर ल्याएको, मसित पैसा छैन उपचार गर्ने, सहयोग माग्न हिडेको ।’ महिलाको अनुहार निन्याउँरो थियो । अनुहार हेर्दा लाग्थ्यो उनी वास्तवमै संकटमा छिन् ।
‘के भएको हो ?’
महिलाले जवाफ दिइन, ‘मुटुमा प्वाल परेको छ रे, डाक्टरले भनेको अपरेसन गर्नुपर्छ, मसित उपचार गर्ने पैसा छैन त्यसैले सहयोग जुटाउँदै हिडेको ।’ महिलासित रहेका २ अन्य महिलाले पनि टाउको हल्लाए ।
पंक्तिकारले आफुसित रहेका ६÷७ जना साथीसित सल्लाह ग¥यो । सबैले गोजी छाम्दै कसैले ५ सउ, कसैले हजारको नोट निकाले । लगभग ४ हजार रुपैयाँ उठ्यो । महिलाहरू दुबै हातले नमस्कार गर्दै ‘भगवानले तपाईंहरूलाई अझैं दिउन’ भन्दै बाटो लागे । सबै जना एक पीडामा परेकी महिलालाई सहयोग गर्न पाएकोमा पुलकित देखिए ।
२ घण्टासम्म चिया र छलफलको कार्यक्रम सकिएलगत्तै पंक्तिकार रानीतर्फ लाग्यो । रानीको एक विद्यालयमा कुनै संस्थाले केही सहयोगको कार्यक्रम राखेको रहेछ । आयोजकले जसरी पनि आउनुपर्छ भन्दै निम्तो दिएका थिए । मोबाइलको घण्टी बजेपछि पंक्तिकारले भन्यो, ‘म आधा घण्टामा पुग्दैछु ।’
रानीको स्कुलमा भीड जम्मा भएको थियो । त्यो भीडमा पंक्तिकारले ती महिलालाई देख्यो जसका बूढा कोसी अस्पतालमा भर्ना भएका थिए र, ती महिलालाई सहयोग गरिएको थियो । ती महिलाले पंक्तिकारलाई राम्ररी ठम्याउन सकिनन् । पंक्तिकारले नजिकै रहेकी एक अपरिचित महिलालाई कूनामा लगेर सोध्यो, ‘ऊ त्यो रातो सारी लगाउने महिलाका बूढा विरामी छन् ?’
ती महिला मुसुक्क हाँसिन र, भनिन, ‘होइन, आज उसको किस्ता थियो होला, तपाईंसित पैसा मागे र !’
ती महिलाको बूढा विरामी रहेनछन् । आज उसको किस्तावापत रकम तिर्ने दिन । उकमुष्ठ बुझेको रकम उत्पादन क्षेत्रमा खर्च नगर्दा र किस्ता तिर्ने समयमा पैसा नभएपछि यसरी नै माग्दै हिड्ने रहेछन् । यो त नियमित क्रियाकलाप नै रहेछ ।
वास्तवमा २५ प्रतिशतसम्म यसरी लगानी गर्ने माइक्रो फाइनान्स कं. हरूले चरम रूपमा सर्वसाधारणलाई ठगेका छन् । किस्ताको नाममा झनै गरिव बनाउने काम भएको स्पष्ट देखिन्छ । किस्ताको दिन कहाँबाट कसोरी हुन्छ पैसा ल्याउनै पर्ने बाध्यता हुनेरहेछ । आय स्रोत नभएकाले के गर्ने ? अनि मगन्ते भएर गलत कुरा भन्यो अनि अरुलाई ठगेर किस्ताको रकम बुझायो ।
यो ठिक होइन । पक्कै पनि माइक्रो फाइनान्सबाट भएका यस्ता गलत कुरालाई गलत भन्नुपर्छ । यो त सोझै व्यक्ति शोषण नै हो । भारतमा त किस्ता रकम बुझाउन नसक्दा आत्महत्याका घटना पनि प्रसस्तै भएका छन् । यसबारे पक्कै पनि सम्वन्धित पक्षले गंभीर भएर सोच्ने बेला आएको छ । यो एकप्रकारको अपराध नै हो र, कानुनी तरिकाले बैध मानिएको यो अपराधक्रमलाई समाजबाट हटाउनै पर्छ ।
पक्कै पनि ती महिलालाई दोष दिने केही ठाउँ होला तर, प्रमुख दोषी त माइक्रो फाइनान्सवाला नै हो । यति चर्को ब्याजमा एकपटक होइन पटक पटक रकम उठाउने कार्यले समुदायका ग्रामिण महिलाको ढाड सेकिएको छ । यो अपराध गर्ने छुट सरकारले दिनु हुन्न ।