
नेपालमा आगामी असोजभित्र एकतिहाइभन्दा बढी जनसंख्याले कोभिड १९ विरुद्ध दुवै डोज खोप लगाइसक्ने परिवार कल्याण महाशाखाले जनाएको छ।

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ भने अरू खोप भने एकजनालाई दुई डोजका दरले दिनुपर्छ। यस हिसाबले असोज मसान्तसम्म १ करोड ३ लाख ३४ हजार जनसंख्यालाई खोपको पूर्ण मात्रा उपलब्ध हुन्छ।
हालसम्म नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार जोन्सन खोप, चीनबाट अनुदानको १६ लाख र खरिद गरेको ५० लाख डोज, भुटानबाट २ लाख ३० हजार डोज, भारतबाट अनुदानको ११ लाखसहित २१ लाख डोज र जापानबाट ८ लाख डोज खोप आइसकेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले दिने भनिएको मोडर्ना र फाइजरको खोप भने सन् २०२२ को अप्रिलसम्म आइपुग्ने महाशाखाले जनाएको छ। यो हिसाबले आगामी चैतभित्र सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य सरकारले तय गरेको हो।