आइतबार, साउन २४, २०७८ || 772  पटक पढिएको

सबैलाई आफ्नो ज्यानको माया हुन्छ । ज्यानको सुरक्षाका लागि मानिस दिनरात संघर्षरत रहन्छ । ज्यानको लागि मानिसले जस्तोसुकै जोखिम मोल्न तयार हुने गरेको छ ।

कोरोनाको दोस्रो लहर उत्कर्षमा पुग्दा विराटनगर र मोफसलका हजारौै मानिसहरू कोभिसिल्डको दोस्रो मात्रा लगाउन भारतको शरणमा पुग्नु परेको छ । विराटनगर र मोफसलका बासिन्दा कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउन जोगवनी, बथनाहा, फारविसगञ्ज, पूर्णिया, सिलिगुढीसम्म पुगेको रहस्य खुलेको छ । २०७७ माघ १४ गतेदेखि नेपालमा कोभिड–१९ विरूद्ध खोप अभियानको शुरूवात गरिएको थियो । अभियान अन्तर्गत भारतमा बनेको कोभिसिल्ड खोपको पहिलो मात्रा अग्रपंक्तिमा खटिएका र ६५ वर्षमाथिका सर्वसाधारणले लिएका थिए । नेपालमा १८ लाख २८ हजार ७ सय ५४ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए ।

२८ दिनभित्र कोभिसिल्डको दोस्रो मात्रा लगाइसक्नु पर्ने थियो । तर नेपालले खरिद गरेको २० लाख डोज मध्ये १० लाख डोजमात्र भारतले नेपाललाई उपलब्ध गरायो । बाँकी १० लाख उपलब्ध नगराउँदा दोस्रो मात्राको खोप कार्यक्रम अन्यांैलमा परेको थियो । कोभिसिल्डको दोस्रो डोज जम्माजम्मी ४ लाख ६० हजार ३ सय ८ जना भाग्यमानीले मात्र लगाउन पाए । प्रदेश नं. १ मा ३ लाख ७ हजार १ सय ८६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए भने दोस्रो मात्रा ५२ हजार ८ सय ५५ जनाले मात्र लगाउन पाए । कोभिसिल्डको दोस्रो खोप ८ देखि १२ हप्ताबीच लगाइसक्नु पर्ने भनिएपनि पहिलो मात्रा लिएको ६ महिना वितिसक्यो ।

कोरोनाको दोस्रो लहर उच्च बनेपछि कोभिसिल्डको पहिलो मात्रा लगाएका अधिकांश सर्वसाधरण अत्तालिन थाले । नेपालमा दोस्रो मात्रा आउने कुनै छाँटकाँट नदेखेपछि विराटनगर र मोफसल बस्ने सर्वसाधारण कोभिसिल्ड लगाउन भारत पुग्न थाले । विराटनगरबाट उद्धव पोखरेल कोभिसिल्ड लगाउन भारत पुगे । उनी त केवल प्रतिनिधि पात्र हुन् । उनी जस्ता हजारौं व्यक्तिले भारतको जोगवनीदेखि सिलगुडी पुगेर कोभिसिल्डको दोस्रो मात्रा लगाएर संतुष्ट बनेका छन् । उनी त सर्वसाधारण कोभिसिल्डको आसमा जोगवनी, बथनाहा, फारबिसगञ्ज, पूर्णिया, सिलगुडीसम्म पुगे । भारतमा राम्रो पकड भएका केहि विराटनगरवासीहरू कोभिसिल्ड खोपका लागि दिल्ली र मुम्बईसम्म पुगेका छन् । भारतमा गएर खोप लगाउनका लागि धेरै हठकण्डाहरू नेपालीले अपनाउनु परेको छ ।

सर्वसाधारणले भारतमा गएर मोटो रकम खर्चेर कोभिसिल्डको दोस्रो खोप आफ्नै रिक्समा लगाएका छन् । कतिपय नेपालीले फोटो धमिलो भएको राशनकार्ड र आधारकार्ड भारतीयबाट केहि समयका लागि खरिद गरी पहिचान ढाँटेर खोप केन्द्रबाट खोप लगाएका छन् । केहिले भारतीय खोप केन्द्रमा विचौलियाको सेटिङ्गमा मोटो रकम खर्च गरेर खोप लगाएका छन् । कोभिसिल्डको दोस्रो मात्राका लागि विराटनगरबाट भारत पुग्नेमा उद्योगपतिदेखि सरकारी कर्मचारीसम्म रहेको सुत्रले दावी गरेको छ । कतिपयले पासपोर्ट देखाएर अनुनय विनय गरेर स्वास्थ्यकर्मीहरूलाई मोटो रकम दिएर पनि खोप लगाए ।

मोटो रकम तिरेर पनि नेपालीहरूले सास्ती भने खानु परेको छ । विचौलिया र स्वास्थ्यकर्मीले बारम्बार हकार्ने, जेलमा थुनिदिन्छु भन्ने, खोप लगाउने बेलामा अतिरिक्त रकम माग्ने , अबेला गरिदिनेसम्मका त्रासदी व्योहर्नु परेको सुत्र भन्छ ।

जोगवनी बजारमा ब्ल्याकमा समेत खरिद गरेर विराटनगरका नेपालीहरूले खोप लगाएको जानकारी प्राप्त भएको छ । भारतमा सरकारी केन्द्रमा निःशुल्क कोभिसिल्ड खोप उपलब्ध हुने गरेको छ भने ब्ल्याक मार्केटमा यसको १ हजार भारतीय रूपैयाँ असुल्ने गरिएको छ । सर्वसाधारणहरू दोस्रो मात्रा नपाएपछि मरिने हो कि भन्ने डरले भारत गएर जायज र नाजायज तरिकाबाट खोप त लगाए तर कोभिसिल्डको गुणवत्ता कति छ भन्नेमा बेखबर छन् । कोभिसिल्डको खोपलाई माइनस २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नु पर्छ । तर भारतमा विचौलियाको मार्फत लगाइने कोभिसिल्डको गुणवत्ता कतिको छ भन्नेमा पनि शंका उपशंका गर्ने ठाउँ रहेको छ ।

प्रदेश नं. १ मा पहिलो मात्रा पश्चात उभ्रिएको कोभिसिल्डको दोस्रो मात्रा विराटनगरको तीनपैनीको सिटी सेनेमा हलमा दोस्रो मात्राको रूपमा पहुँचवालाहरूलाई खुलेआम लगाउँदा केहि समय पहिला स्थानियले होहल्ला गरेका थिए । सिटी सेनेमामा पहुँचवालाहरूलाई प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले लगाइदिएको तथ्य सार्वजनिक भएको थियो । त्यहाँ होहल्ला भएपछि पहुँचवालाहरूले विराटनगरकै अन्य स्थानमा कोभिसिल्डको दोस्रो मात्रा पाए भने सर्वसाधारणहरूले दोस्रो मात्राको लागि भारत पुगेरपनि सास्ती व्योहरी रहनु परेको गुनासो छ । तर जापान र भुटानबाट एष्ट्रेजेनिकाको खोप करिब ८ लाख मात्र भित्रिएको छ । जुन यस अघि कोभिसिल्ड लगाएका सर्वसाधारणलाई लगाउने तयरी सरकारले थालेको छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!