१८ महिनाभन्दा बढि समयदेखिको लकडाउन र निषेधाज्ञाको मार खेपेको विराटनगरका औद्योगिक तथा व्यवसायिकहरू पुनः कोभिड महामारीको तेस्रो भेरियेन्टको सामाना गर्नुपर्ने डरका कारण सशंकित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले साउन २५ गतेदेखि पुनः निषेधाज्ञाको समयावधि बढाउन सक्ने गरी गरेको तयारीप्रति सशंकित बनेका छन् । विराटनगर महानगरपालिकासहित १ नं. प्रदेशमा कोरोना संक्रमितको संख्या र मृत्युदरमा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङ निषेधाज्ञाको समयावधि घटाउने तयारीमा लागेको छ ।
८ बजेसम्म बजार व्यवसाय संचालन गरिरहेका व्यापारी र कारोबारीहरूले पछिल्लो समय ६ बजेसम्म मात्रै बजारमा पसल खोलेर कारोबार गर्न पाएका छन् । साउन २५ गतेदेखि ६ बजेबाट घटेर ४ बजेसम्म बजार खोल्ने प्रशासनको तयारीप्रति व्यापारी संशकित बनेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पछिल्लो समय स्थानिय तहलाई कोरोना संक्रमितको क्षेत्र शील गर्ने खोल्ने र कफ्र्यू लगाउनेसम्मको अधिकार प्रत्यायोजन गरेको छ । जिल्लाभरी नै निषेधाज्ञा लगाउनु परेको खण्डमा जिल्ला प्रशासन कार्यालय मोरङको जिल्ला सुरक्षा समितिले निर्णय गर्ने छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले कोरोना संक्रमितको संख्या र मृत्युदरमा कमि नआए निषेधाज्ञामाथि थप कडाई गर्ने तयारी भइरहेको जानकारी गराए । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले बजार हिड्ने जोकोहीलाई मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको छ । मास्क नलगाई हिँड्नेलाई केहि समय सडकमै उभ्याइने गरिएको छ ।