धेरै कुरामा असहमति हुनसक्छ तर, साहित्यकार दधिराज सुबेदीले पछिल्लो पटक जुन काम गरे त्यसलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । कसैले गर्न नसकेको काम उनले आफ्नै लगानीमा गरेका छन् अरुका लागि । हो, अरुका लागि किनभने साहित्यकारको परिचयसित सुबेदीको कुनै साइनो नभए पनि उनले अरुका लागि काम गरेका छन् र, अरुकोपरिचय सार्वजनिक गरेका छन् ।
हो, उनले साहित्य रचना गर्ने दर्जनौंको बारेमा एउटा पुस्तक लेखेका छन् । कुन साहित्यकारका कुन रचना सार्वजनिक भएका छन्, उनको परिचय के हो भनेर सुबेदीले एउटा इतिहासलाई पस्किने काम गरेका छन् ।
इतिहास लेख्नु सजिलो छैन । व्यक्तिको परिचय पनि एउटा इतिहास हो र, त्यसलाई लिपिवद्ध गर्नु झनै अफठ्यारो हुन्छ । व्यक्ति–व्यक्तिलाई भेटेर उसका कृति, परिचय लिपिवद्ध गर्नु गाह्रो कुरा हो ।
भलै कसैको सानो परिचय होला कसैको बृहत । तर, कृतिमा सुबेदीले सबैलाई न्याय गरेका छन् । कोही नछुटुन र कोही नदोहोरिउन भन्ने भावना प्रकट भएको देखिन्छ । उनले आफुप्रति पूर्वाग्रह राख्नेहरूलाई पनि यसमा समेटेका छन् जुन सकारात्मक मान्न सकिन्छ ।
सुबेदीले ‘म प्रति पूर्वाग्रह साहितयकार’ भनेर स्थान नदिन सक्थे । तर, उनले इतिहासलाई न्याय गरेका छन् ।
सुबेदीका यसअघिका कृतिमा आलोचना गर्ने धेरै ठाउँ हुन सक्छन् । कुनैमा भजन गाएको हुनसक्छ तर, साहित्यकार कृति सरल र सहज छ । र, यो उपयोगी पनि देखिन्छ । आज धेरै साहित्यकारहरू परिचयबिहीन छन् । उनीहरूले यो समाजलाई धेरै कृति पस्केका छन् । कतिपय झुटा स्रष्टा पनि हुनसक्छन् । आफुलाई स्रष्टा भन्ने तर, कृति सार्वजनिक गर्ने कुरामा शून्य हुन सक्छन् । कतिले संख्या बढाएको पनि हुनसक्छ ।
जीवनको उत्तराद्र्धमा सुबेदीले महत्वपूर्ण कृति पस्केका छन् । उनले कुनै बेला विराटनगरको इतिहास, कोइराला परिवारको कथालाई पनि बाहिर ल्याए र, आज त्यही कथालाई इतिहास मानेर व्याख्या गर्नेको कमी छैन । हो, त्यसमा केही समस्या हुनसक्छन्, कुनै कथाका प्लटहरू अलि बढी बढाईचँढाई गरिएको पनि हुनसक्छ । एक लेखकका रूपमा सुबेदीले लिपिवद्ध गर्दा भन्नेहरूबाट गलत कुरा पनि आएको हुनसक्छ ।
यद्यपि सुबेदी धार्मिक पुस्तक लेख्ने धेरै स्रष्टामा चुकेका छन् । विराटनगरका यस्ता व्यक्तिहरू छुटेका छन् जसमा उनको ध्यान गएन । नाम चलेका, बजारमा देखिने स्रष्टालाई मात्र उनले महत्व दिएको देखिन्छ । बजारमा नदेखिने र निरन्तर साहित्यक्रममा लागेकाहरूलाई उनले समेट्न सकेनन् । यसमा को परे ? कुनै दिन छलफल र भेट भएको बेला सुबेदीसित यसबारे कुरा होला ।
स्रष्टा कहिल्यै खुसी नहुने जात हो भनेर भनिन्छ । स्रष्टाले स्रष्टालाई खुसी बनाउने कुरै भएन ।
सुबेदीले विराटनगरलाई मात्र केन्द्रित गरे कि भन्ने लाग्छ । गाउँमा बसेर साहित्य रचना गर्नेहरू थुप्रै छुटेका छन् । प्रचारको अभावमा खुम्चिएका स्रष्टालाई पनि बाहिर ल्याउन सक्नुपथ्र्यो । तर, नहुुनुभन्दा कुनै कुरा हुनु राम्रो हो । यसमा सुबेदीलाई मात्र दोष दिएर हुन्न । केही हतारो पक्कै भएको हो तर, यसमा अझै केही समय पर्खेर को छुटे, कसलाई समावेश गर्न सकिएन भनेर गहन अध्ययन गरेको भए पक्कै पनि धेरै अनुहारहरूलाई स्रष्टाका रूपमा बाहिर ल्याउन सकिन्थ्यो ।
एक जना भजने बा, अर्का युवा पण्डित छन् जसले भजन कृति सार्वजनिक गरेका छन् । पुस्तकमा दुबै गायव छन् । सायद सुबेदीको यसमा ध्यान गएन । भजने बाले ४ वटा कृति निकालेका थिए, प्याकुरेल थरका युवा पण्डितले पनि ३ धार्मिक कृति निकालेका छन् । धार्मिक पुस्तक इतिहासमा लिपिवद्ध हुनुपर्दथ्यो । हुन सकेन । तर, केही छैन । सुबेदीले आफ्नो कृतिमा जतिलाई समावेश गरेका छन् त्यसलाई उपलब्धी मानौं ।
सुबेदीले त यो काम गरे तर, अरुले त केही पनि गरेका छैनन् । समाजमा गर्नेकै आलोचना हुन्छ । नगरेर बसेको भए आलोचना हुने थिएन । त्यसैले यो कार्यका लागि पंक्तिकार मुक्तकण्ठले प्रशंसा गर्छ र, आउँदा दिनमा छुटेका स्रष्टाले न्याय पाउने आशा गर्दछ ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।