मंगलबार, साउन १२, २०७८ || 792  पटक पढिएको

विराटनगरमा सोमबारका लागि तोकिएको खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्डको खुलेरै धज्जी उड्यो । यसले सर्वसाधारणमा खोपसँगै कोरोना भित्रने डर हावी भएको छ ।

विराटनगर क्षेत्रमा सरकारी संस्था, बैकिंङ्ग, एयरलाइन्स सम्बद्ध कर्मचारी, सुरक्षाकर्मी, कानून व्यवसायी, विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई वीरेन्द्र सभागृह, कोशी अस्पताल र नेपाल परिवार नियोजन संघमा बुधबारसम्म खोप लगाउने गरी केन्द्र तोकिएको थियो ।

५५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका कोभिड विरूद्धको पहिलो खोप लगाउन बाँकी सबै नागरिकलाई मंगलबार र बुधबार सम्बन्धित वडा कार्यालयमा नै लगाउने गरी तयारी गरिएको थियो ।

परिवार नियोजन संघमा नियमित तालिका अनुसार सोमबार नवजात शिशुको पनि खोप कार्यक्रम संचालन गर्नु पर्ने भएकोले कोरोना विरूद्धको खोप कार्यक्रम रद्द गरिएको थियो । सभागृह र अस्पताल गरी दुई केन्द्रबाट खोप कार्यक्रम संचालन गरिएको थियो । तर यी दुई केन्द्रमा विहानै ७ बजेदेखि हजारौको भीड खोप लगाउन पुगेको थियो । आजै खोप सकिने हो की भन्ने भयले ५५ उमेर कटेका नकटेका, कर्मचारी गैर कर्मचारी सबै खोप लगाउन वीरेन्द्र सभागृह र कोशी अस्पताल पुगी घण्टौसम्म लाइन लागेका थिए ।

केन्द्रमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पुरै धज्जी उडेको थियो । सामाजिक दूरी भत्काइएको थियो । हजारौको भीड खोप लगाउन ठेलम्ठेल गरेर उभिएको थियो । लाईनमा घण्टौ ठेलेरै र पेलेरै उभिनु पर्दा कतिपयलाई स्वासप्रस्वासको समस्या पनि देखिएको थियो । सामाजिक दूरीको पालना गरेर कोहि पनि इच्छुक देखिएनन् । केन्द्र संचालन गरेको महानगरपालिकाका नगर प्रहरीहरूपनि ठेलम्ठेल र पेलाम्पेलको रमिता स्वाद लिँदै टुलुटुलु हेर्न व्यस्त थिए ।

वीरेन्द्र सभागृह खोप केन्द्रमा लामवद्ध भएर घण्टौ बस्नु परेको र आफू लाइनमा भएपनि चोर बाटोबाट खोप लगाउने प्राविधिकले आसपासेलाई लगाएको भन्दै बेलाबेलामा कोहराम मच्चिने गरेको थियो । केन्द्रको अव्यवस्था देखेर खोप लगाउन आउनेहरूले सरोकारवाला विरूद्ध बाक्लै नारा लगाएका थिए ।

खोप लगाउन आएकाहरू अधिकांश केन्द्रमा ओर्लिएको मानवीय सागर देखेर अत्तालिएका थिए । सामाजिक दूरी पालना नगरेको भीडकाबीचबाट आफूले पनि खोपसँगै कोरोना बोक्ने हो की भनेर अधिकांशले डर मानिरहेका थिए ।
लघुवित्त वित्तीय संस्थामा कार्यरत पुष्पलालचौककी सावित्रा सुवेदी केन्द्रको अस्त व्यस्त व्यवस्था देखेर निरास बनिन् । उनले केन्द्रमा सामाजिक दूरी पालना गर्ने गराउने तर्फ कसैको नजर नपुगेको बताइन् । उनले खोप लगाउन आउन भने पनि कोरोना लिएर गइएला जस्तो अवस्था रहेको भन्दै डर पोखिन् ।

‘खोप लगाएर पनि कोरोना हुदैन भन्ने रहेन छ’ मधुमाराकी सरकारी विद्यालयकी शिक्षिका विनिता विष्टले सो कुरा भन्दै खोप केन्द्रको अगतिलो व्यवस्थापनका कारण कोरोना लाग्ला भन्ने पीर बढेको बताइन् । भीड अनि अव्यवस्था भएको थाह पाएको भए खोप केन्द्र आउँदै नआउने भन्दै निजी बैंकमा कार्यरत निलम शर्माले आक्रोश पोखिन् । खोपको लोभमा केन्द्र आउँदा कोरोना सँगै लिएर जाने पो भइयो कि भन्दै पीर लागेको बताइन् ।

विराटनगर–१ का केपी क्षेत्रीले खोप केन्द्रमा भीड देख्दा त मन अत्तालिएको र आफै कोरोना संक्रमित त हुने होइन भनेर सशंकित भएको तर खोपको बाध्यताले सामाजिक दूरीबिनाको लाइन बस्नु परेको बताए । ‘हामी भेडाबाख्रा हौं, हामीलाई जसो जे गरेपनि हुन्छ, पेले पनि हुन्छ गोली ठोके पनि हुन्छ’ यो आक्रोश थियो विराटनगर–७ का विनोद बस्नेतको । उनले खोप कार्यक्रम १९ वटै वडामा गरेको भए कसैको पनि ज्यान जोखिममा नपर्ने तर्क गरे ।

खोप केन्द्रमा कर्मचारीबीचपनि बैंकर्सको लाइन छुट्टै, शिक्षक कानूनविदको लाइन छुट्टै गरेको भए भीड पनि कम हुने र छिटो खोप लगाउन सकिने हुँदा कोरोना सर्ने जोखिम कम हुने वडा नंं. ५ का शिक्षक पर्शुराम सुवेदीले बताए । पहिला पनि खोप लगाउने ३ दिनको कार्यक्रम संचालनको घोषणा गरे पनि पहिलो दिननै खोप सकिएर रूनु न हास्नुको अवस्था आएकोले यस पटक खोप कार्यक्रम संचालन भएको पहिलो दिननै खोप लगाइसक्ने होडबाजीका कारण केन्द्रमा अचाक्लीको भीड बढेको र जोखिम मोलेरै लाइनमा एकअर्कासँग टाँसिनु परेको सुवेदीको कथन थियो ।

महानगरपालिकाका खोप अधिकृत अमरदीप देवले खोप कार्यक्रम तीनदिनको लागि भएपनि पहिलो दिननै मानिस तछाडमछाड गरिरहेको बताए । उनले ३ दिनसम्म खोप कार्यक्रम संचालन गर्न ७ हजार ५ सय खोपको मात्रा उपलब्ध भएको बताए ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!