मंगलबार, साउन १२, २०७८ || 715  पटक पढिएको

म एक लेखक हु, लेखक मात्र होइन राजनीति गर्ने भएकाले लेखेर आफ्नो विचार अभिव्यक्त गर्छु । मेरो नाममा आउने लेखबारे धेरैले प्रशंसा गर्छन् । यो प्रशंसा सुनेर म आफैले आफैलाई धिकार्ने गर्छु बेलाबेलामा । बाहिय रुपमा मख्ख पर्नु पर्ने तर, वास्तविकता भने अर्कै ।

किनभने त्यो लेखमा मेरो थीम मात्र हुन्छ । अर्थात् लेख्ने अर्कै हुन्छ, नाम मेरो आउँछ । यो कुरा कसैलाई थाहा हुन्न लेख्ने र नाम आउने व्यक्तिबाहेक ।
मैले यो कुरा स्वीकार गरे भने पक्कै पनि यसको असर राजनीतिमा पर्छ । अरुबाट लेखाउने रहेछ भनेर आलोचना पन िहुन्छ । मलाई थाहा छ यो गुदी कुरा त्यो दिन सार्वजनिक हुन्छ जुन दिन मैले लेखाउने व्यक्ति टाढा हुन्छ, असन्तोष व्यक्त गरेर हिड्छ ।

त्यसैले गुपचुप रूपमा यो काम हुन्छ । प्रधान सम्पादक महोदयलाई पनि यो सही कुरा थाहा छैन । उनले मेलमार्फत् लेख पाउँछन् । पहिलेजस्तो हातले लेख्नु पर्दैन । कम्प्युटरमा टाइप गरेर पठायो भने भैहालछ । प्रविधिको यो फाइदा पनि हो ।
फोन गरेर ‘निकै मार्मिक, अर्थपूर्ण र समसामयिक विषयमा कलम चलाउनुभएको छ’ भनेर तारिफ गर्छन् प्रधान सम्पादक महोदय । लेख छापिएको दिन त सखारैदेखि प्रतिक्रिया आउँछ । म हरेक फोनमा आउने तारिफ सुनेर दंग पर्छु, फोन गर्नेलाई धन्यवाद मात्र भन्छु ।

लेखवापत आउने पैसा पनि मैले चलाएको छैन । यो रकम लेख्न मेहनत गर्ने व्यक्तिले नै प्रयोग गर्छन् । अर्थात् लेख्न मेहनत गर्ने व्यक्ति आफै गएर पत्रिकाको कार्यालयमा गएर पारीश्रमिक बुझ्छन् । अहिलेसम्म पारीश्रमिक बुझ्न जाँदा नाइँनास्ती भएको छैन मार्फत् व्यक्ति ।

यो एकप्रकारको नसा नै रहेछ भनौ । राजनीतिलाई केही मात्रामा भए पनि मलजल गर्ने माध्यम रहेछ । कार्यक्रममा जाँदा लेखकै विषयमा चर्चा हुन्छ । फलानो लेख त गज्जवै थियो भनेर तारिफ हुन्छ । अब गज्जवकै थियो थिएन, थाहा भएन, सम्भवतः चाकडीको भाषा पनि प्रयोग भएको हुनसक्छ । तर, म कुनै प्रतिक्रिया जनाउन्न र, धन्यवाद मात्र भन्छु ।
कांग्रेस मात्र होइन एमाले, माओवादी केन्द्र, जसपाका धेरै नेताहरू यसरी लेख लेख्छन् । मलाई लाग्छ धेरै कमको दिमाग चल्छ पुरै लेखनमा ।

यसरी पत्रिकामा लेख आउँदाको फाइदा पढुवा भनेर चिनिंदो रहेछ । फलानो नेताको त आर्टिकल पनि आउँछ, उनी साह्रै पढुवा छन् भनेर सुनिन्छ । कार्यकर्ता तहमा यसबारे कुरा पनि हुन्छ । कतिपय पढुवा कार्यकर्ता छन् जसले ‘अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?’ भनेर सोध्छन् । नपढे पनि पुस्तकको नाम चैं याद हुनुपर्ने रहेछ । भनिएको कुनै पुस्तकको अंश ठ्याक्कै उद्धरण गर्न भनियो भने सरल उपाय छ । अहिले भर्खर सुरु गरेको छु, यसबारे पछि कुरा गरौंला, पूरै पुस्तक नपढिकन अहिले नै बोल्नु उपयुक्त हुन्न भनेर भन्दियो भने सोध्नेको मुख नै बन्द हुन्छ ।

कुनै लेखमा लेखिएको कुरा कुनै पढुवाले मज्जाले पढेर यसको व्याख्या गर्नुहोस् भनेर भन्यो भने पक्कै पनि मलाई समस्या पर्न सक्छ । अहिलेसम्म परेको छैन । कार्यकर्ताले धेरैपटक शंका व्यक्त गर्दै सोधेका छन् तर, मैले ‘पहिले राम्ररी पढ् अनि कुरा गरौंला’ भनेर टारेको पनि छु । कतिपय शंकालु पाठकले शंका पनि गरेका छन् र, सामान्य कुरा लेख्दा त हात काम्ने मेरो दैनिकी अनि पत्रिकामा आउने लम्बेतानको लेख उनीहरूलाई पच्ने कुरै भएन ।

ऋषि धमलाहरूलाई अन्तवार्ता दिन सजिलो हुन्छ । धमलाहरूले प्रश्नको हमला गर्छन् अनि जवाफ त्यसैअनुसार दियो । लेखमा गाह्रो हुने रहेछ । आखिर असत्य, लुकाएको कुरा त पच्दैन । र, पनि म यो सबै कुरा स्वीकार गर्न सक्दिनँ । कसैलाई लेख्न लगाएर छापेको आर्टिकलको यथार्थ कुरा स्वीकार गर्न मेरो ब्रम्हले दिदैन । मैले जीवनकालमा यो कुरा लुकाउनु पर्ने हुन्छ । लुकाउने प्रयास अहिलेसम्म गरेको छु । हेरौं कहिलेसम्म यो कुरा यथार्थ बनेर बाहिर आउने छैन ?
यो हो नि कुरो !

सत्य कुरा धेरैलाई पच्दैन किनभने सत्यमा बल हुन्छ, शक्ति हुन्छ । असत्य कुरा धेरैलाई पच्छ किनभने त्यसमा सत्य र शक्ति हुन्न । संसार सत्यभन्दा असत्यतर्फ मोडिएको छ ।

यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!