
कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

उनलाई यो विधिबाट बिहीवार साँझदेखि उपचार थालिएको अस्पतालले जनाएको छ ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधवार साँझदेखि आइसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालको भनाइ छ।
उनीहरू तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् । त्यसको केही दिनअघि उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।