
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनासँग सम्बन्धित समस्याबाट मर्नेको संख्या ४ हजार नाघेको छ । यहाँ महामारी सुरु भएयता २४ घण्टाभित्रै यति ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।

अस्पतालबाट बिरामीले भरिएका छन् । केही शहरमा उपचारको प्रतिक्षा गर्दागर्दै मानिसहरुको मृत्यु भएको छ ।
धेरै क्षेत्रमा स्वास्थ प्रणाली विध्वंशको बाटोमा पुगिसकेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल नै हो ।
यद्यपि, महामारी नियन्त्रणका लागि लकडाउन गर्न राष्ट्रपति जैर बोल्सेनारोले अस्वीकार गरेका छन् । भाइरसको असरभन्दा अर्थतन्त्रको क्षति पुग्नु थप खराब हुनसक्ने उनको तर्क छ । स्थानीय सरकार र अदालतहरूले लागू गरेका कडाईका केही मापदण्डलाई समेत खुकुलो बनाउने प्रयत्न उनले गरिरहेका छन् ।
मंगलबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै बोल्सेनारोले क्वारेन्टाइन मापदण्डको आलोचना गरेका थिए । क्वारेन्टाइनले थकान र डिप्रेसन बढाउने तथा बेरोजगारीतर्फ धकेल्ने उनको तर्क थियो । यद्यपी २४ घण्टाभित्र ४ हजारले ज्यान गुमाएको विषयमा उनले केही बोलेनन् ।
ब्राजिलमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ३० लाख नाघिसकेको छ । स्वास्थ मन्त्रालयका अनुसार मार्च महिनामा यहाँ ६६ हजार ५ सय ७० जनाले ज्यान गुमाए । फेब्रुअरीको तुलनामा यो मृत्युदर दोब्बरभन्दा पनि बढी हो । फियोक्रुज हेल्थ इन्स्टिच्युटका अनुसार धेरैजसो राज्यमा कोभिड १९ का बिरामीले ९० प्रतिशतभन्दा धेरै आईसीयु बेड प्रयोग गरिरहेका छन् ।
ब्राजिल भेरिएन्ट के हो ?
पछिल्लो समय कोरोनाका धेरै स्वरुपहरु देखिएका छन् । फियाक्रुज इन्स्टिच्युटले ब्राजिलमा ९२ वटा विभिन्न स्वरूपका कोरोना भाइरस देखिएको जनाएको छ । यसमध्येको एक पी. १ वा ब्राजिली भेरिएन्ट हो ।
कोभिड १९ को ओरिजिनल स्ट्रेनभन्दा पनि यो भाइरस धेरै प्राणघातक हुनसक्ने अनुमान गरिएको छ । नोभेम्बर २०२० मा अमेजोनास राज्यबाट यो स्वरुप फैलिएको अनुमान गरिएको छ । लगत्तै या भाइरस अमेजोनास राज्यको राजधानी मानासमा फैलिएको थियो, जहाँ जनवरी २०२१ सम्म कुल संक्रमितमध्येका ७३ प्रतिशतमा यो भेरिएन्ट भेटिएको थियो । news source :- RatoPati