प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
भोलि दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको राष्ट्रिय सभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
समसामयिक विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।
यसअघि बसेका संसदीय दलको बैठकमा झलनाथ खनाल-माधव नेपालपक्षीय सांसदहरू उपस्थित भएका थिएनन् ।
अनुकूल समयमा बैठक बोलाए सहभागी हुने खनाल-नेपाल पक्षीय सांसद योगेश भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए ।
भोलिको बैठकमा खनाल-नेपाल पक्ष सहभागी हुने कि नहुने भन्ने यकिन भइसकेको छैन ।