माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाठगको संज्ञा दिएका छन् । सिन्धुलीमा पार्टीका नेता कार्यकतासँगको भेटघाटमा उनले यो ३ वर्ष ओलीलाई आफूले राम्रोसँग चिनेको बताउँदै ओलीले २००७ सालदेखिका संघर्षका उपलब्धिमाथि षडयन्त्र गरेको बताए ।

उनले एकताको प्रस्तावक आफु नै रहेको बताउँदै त्यसको मर्म सही रहेपनि प्रधानमन्त्री ओलीकै कारण यो अवस्था आएको बताए । उनले भने–‘पार्टी एकता गर्ने बेला गरेको सहमती हस्ताक्षर सबै राम्रा छन् । अहिले त्यसलाई पल्टाएर हे¥यो भने पनि गल्ति गरेको केही पनि देखिँदैन । समाजवाद उन्मुख जनवाद पार्टी कार्यदिशा, मार्क्सवाद लेनिनवाद पार्टीको राजनीतिक प्रतिवेदन, विधान, जनवादी केन्द्रीयता, एउटै कम्युनिष्ट पार्टी बनाएर जाने, विकास निर्माण गर्ने, समाजवादको आधार तयार पर्ने, सामाजिक न्यायका कुराहरु नै छन् सबै । महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने, प्रधानमन्त्री पनि आलोपालो गर्ने भन्नेमा हस्ताक्षर छ । त्यहाँ गल्ती भएको त हैन् । यहाँसम्म आइपुगेर के थाहा भयो भने केपी ओली मान्छे चाहिं महाठग रैछन् । राजनीतिमा मान्छेले अलिअलि जालझेल त गर्छन् तर यस्तो ठग त हुँदैनन् । हस्ताक्षर धेरै गरे तर एउटा पालना गरेनन् । पार्टी एकता हामीले नै गराइयो फेरी फुट्ला कि भने हामी नै थरथर काँपियो । पार्टी फुट्ला भनेर उदारतातिर लागियो, फकाएर हुन्छ कि भनेर केही समय फकाउन पनि लागियो । मलाई प्रधानमन्त्री चाहिएन पाँचै वर्ष तिमी नै खाउ पनि भनियो । तर उनले चाही कुनै कुरा पालना गर्ने कुरा भएन् । बरु उल्टै विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान नै खाने, संघीयता नै खान खोजे ।’

ओलीसँगको ३ वर्षको संगतमा आफूले बुझेको–केपीको एउटै रणनीति माओवादीले स्थापित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकतालाई सिध्याउने रहेको बताए । उनले भने– ‘त्यसका लागि माओवादी स्थापित गरेका मूल्य मान्यता र अझ प्रचण्डलाई नै सिध्याउने खेलमा लागे । तपाईहरुले यसो हेर्नुभयो भने, गहिरो गरी बुझ्नुभयो भने, उसको दाउ मलाई सिध्याउने बाहेक केही पनि देखिएन । त्यो हो भने अब लड्नैपर्छ भने अब जमेर लड्नुपर्छ भनेर १९ पेज लामो दस्तावेजको बम हानेको हो । साँच्चैको बम हैन है फेरि । त्यसपछि महामारी सुरु भयो । त्यो महामारी अहिलेसम्म चलिरहेको छ ।’

उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि काठमाडौंमा बसेर पहिलेदेखि शासन सत्ता चलाएर बसेकाहरुलाई मन नपरेको बताउँदै ठूलो आँधी हुरी आएपछि सबैले मान्न बाध्य भएको बताए । उनले भने– ‘मौका पर्खेर यो कतिबेला कमजोर होला र खोसौला भनेर बसेको एउटा तप्का चाँही थियो । ति हरेक पार्टीहरू भित्रपनि थिए, पार्टीहरू बाहिर पनि थिए । देश भित्र पनि थिए, देश बाहिर पनि थिए । अहिले तिनीहरुले यसलाई उल्ट्याउन सकिन्छ कि भनेर जमर्को गरे । प्रतिनिधि सभा विघटन यी उपलब्धिहरुलाई उल्टाउने प्रक्रियाको सुरुवात थियो । सबै कुरा उल्टाउने, गाउँघरमा पुगेको अधिकारलाई खोसेर फेरि काठमाडौंमै केन्द्रीत गर्ने, समावेशी चरित्रलाई उल्टाएर एकात्मकतातिर लैजाने उदेश्यका साथ गरिएको षडयन्त्र थियो । त्यसको प्रतिवाद भयो । तपाई हामी सबैले प्रतिवाद गरियो । सबैभन्दा बढी हामीले नै गरियो । अझ हामी माओवादी आन्दोलनबाट आएकाहरुलाई त यो जीवन र मृत्युको नै सवाल भयो । यो उल्टिएको भए त हामीले गरेको संघर्षको उपलब्धी नै खेर जाने थियो ।’

अध्यक्ष प्रचण्डले काठमाडौंका बौद्धिक समाज पनि प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको, ब्यापक जन दवाव पनि सिर्जना गर्न सफल भएको र सर्वोच्चले पनि सहि फैसला गरेको बताए । शान्तिपूर्ण राजनीतिमा जाने भनेर आइसकेपछि अब शान्ति, स्थायित्व र विकासको बाटोमा जाने भनेर अघि बढेको बताउँदै विकासबाटै समाजवादको बाटोमा जाने र त्यसको लागि विकास नै महत्वपूर्ण पक्ष भएकोले पार्टी एकतालाई अघि बढाएको उल्लेख गरे ।
उनले भने– ‘कम्युनिष्टहरु सबै एकताबद्ध बनौँ भनेर पार्टीको एकताको प्रस्तावक नै म हो । केपी वा अरु हैन । प्रदेश र संघको चुनाव अघि मैले नै पार्टी एकताको प्रस्ताव गरेको हुँ । कम्युनिष्टहरू एक ठाउँमा हुँदा बहुमत हुन्छ उस्तै परे २ तिहाई नै आउँछ र हामीले जे काम पनि गर्न सक्छौँ भनेर मैले प्रस्ताव राखेको हुँ । दुबै पार्टी मिलेर चुनाव जितेपछि अब चाँही केही भयो भन्ने भएको थियो । तर प्रतिक्रियाबादीहरु मसँग चाही धेरै रिसाए । प्रतिक्रियावादीहरुको धारणा संविधान नबनोस् भन्ने थियो । संविधान सभाबाट संविधान बनाउनुपर्छ भन्ने मेरो अडानका बेला पनि मैले मानेन भनेर बेस्सरी रिसाएका थिए ।’

संविधान बनेपछि चुनाव नगराउनका लागि आफूलाई ठूलो दवाव आएका पनि उनले बताए । उनले भने– ‘आन्दोलनमा रहेको मधेसलाई मनाएर मैले स्थानीय तहको निर्वाचनको सुरुवात गर्दा प्रतिक्रियाबादीहरुलाई मन परेको थिएन ।’ दुई पार्टी मिलायो भने त बर्बाद हुन्छ मिलाउनै हुँदैन भनेर मलाई दवाव पनि थियो । पार्टी एकीकरणको प्रस्तावक भएको नाताले म माथि प्रतिक्रियावादीहरु म माथि धेरै रिसाए ।’ अहिले पार्टी फुटाउनका लागि पनि उनीहरुको हात रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!