प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्षले आह्वान गरेको चियापानमा सरिक नभएर नेता माधव नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘एकथरि अनुहारहरू देखिएन आज । यो राम्रो लक्षण होइन ।’ उनले नेता नेपाल समूहले भोलि बुधबारका लागि आव्हान गरेको भेलालाई आफूले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिए ।
उनले भने, ‘एकथरि अनुहारका साथीहरु चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरु देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरुसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।’
उनले नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गरे ।