पार्टीको नाम फेर्ने बारे नेकपा माओवादी केन्द्रमा छलफल शुरु भएको छ ।
माओवादी विचारधारामा सहमत नहुने अन्य कम्युनिस्टलाई समेत समेत आकर्षण गर्न भन्दै माओवादीमा पार्टीको नाम फेर्ने एजेण्डा आइतवारको बैठकमा पेश भएको छ ।
केन्द्रीय कमिटी बैठकका लागि ६ एजेण्डा तय भएका छन् । सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विविध एजेण्डा छन् । विविध अन्तरगत पार्टीको नाम फेर्नेबारे नाम राखिएको छ ।
नेकपा एकता प्रक्रियालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि आइतवार पहिलो पटक माओवादीको केन्द्रीय कमिटीको बैठक बसेको थियो । २०७५ जेठ ३ मा तत्कालीन एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएको थियो । फागुन २३ गते सर्वोच्चले नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिबारे बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।