प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।
‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने, ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुप्रै जालो थापे । तर गैँडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’
प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुँडियो, यसरी चुँडाउन पाइँदैन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’
प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिए । हटाउन सके हटाएर देखाउन उनले चुनौती दिएका हुन् । कसैले हटाएपनि नेकपा(एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ । उनले भने,‘कसैलाई प्रतिपक्षमा बस्न के–के न गाह्रो हुन्छ । ०७३ सालमा म प्रधानमन्त्रीबाट हटाइएँ । १९ महिनापछि दुुई तिहाई लिएर फर्किएँ । अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाट मुल गेटबाट फेरि पस्छ । हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौं । हामी राजनीतिक प्राणी हौं ।’
उनले आफ्नो गन्तव्य सत्ता नभएर देश विकास भएको बताए । ‘हाम्रो गन्तव्य सत्ता होइन । हाम्रो गन्तव्य देशको विकास हो, जनताको समस्या साधान गर्दै अघि बढ्ने कुरा हो । हामीले निर्धारित गरेका लक्ष्यहरु कृषिको आधुनिकिकरण हो । रोजगारीका अवसरहरू सिर्जना गरेर अगाडि जाने कुरा हो । यस देशमा जनतालाई हेर्ने हामीबाहेक अरु को छ र ?’उनले भने ।
माधव–झलनाथ पक्षलाई हटाएको छैन
उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताउनुभयो । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ । उनले भने – ‘उहाँहरु कता जानुभयो ? कता जान हिँड्नुभएको थियो ? बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भनिदियो अरे । फर्किदै हुनुहुन्छ अरे । ठिक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरुलाई । उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि , काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ? उहाँहरु आएपछि सल्लाहसँग गरुँला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुप¥यो नि हामीले । त्यो जिम्मा दिँदा खेरी फेरी दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौँला ।’
बैठकमा आउन आह्वान
प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गरेका छन् । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए । उनले भने – ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदाबारी भएर हिँड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभएको भन्ने सुनियो । बैठकमा आइपुग्नु भएको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभयो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’
प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरेका छन् । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उनको भनाइ छ । उनले भने – ‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु । हामीले एकता गरेको थियौँ । एकतामा कायम रहौँ । अगाडी बढौँ । म स्वागत गर्छु साथीहरुलाई । फेरीपनि वेलकम गर्छु । आउनुस् । सँगै मिलेर अघि बढौँ । सच्चिएर आउनका लागि म बाटो बिराएका हरुलाई पनि भन्न चाहान्छु आउनुस् सच्चिएर । यसो वक्तव्यबाजी सुन्छु कतै कतै । हामी फर्किन्छौं, केपी ओलीलाई ठेगान लाउन फर्किन्छौ । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस् । पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस् । स्वागत छ । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईको खुट्टामा बाटैमा ठेस लाग्छन् ।म सबै साथीहरुलाई आग्रहहरु छोडेर, भ्रमहरु तोडेर पार्टीमा आउन, एकजुट भएर अगाडी बढ्न तमाम कार्यकर्ताहरुलाई आग्रह गर्न चाहान्छु ।’