काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले ‘एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे’ भनेर अभिव्यक्ति दिएपछि नेता थापाले प्रश्न गरेका हुन् ।
फागुन २३ गते पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाली कांग्रेसले नाराबाजी र विरोध गरेको प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे’ भनेर अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले मंगलवार समाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाएका हुन् । उनले ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झूट प्रधानमन्त्रीज्यू ! एसिड आक्रमण र महिलामाथि हुने हिंसा विरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौं ।’ लेखेका छन् ।