झापाको केर्खाबाट विराटनगर आएका २६ वर्षीय युवाको बसमै मृत्यु भएको छ । विराटनगर बसपार्कमा रोकिएको जनसेवा यातायातमा सो युवक मृत फेला परेको छ ।
झापाको केर्खाबाट विराटनगर आएका सो युवाको गाडीमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको केर्खा घर भएका २६ वर्षीय युवक राजकुमार थापा किडनी को बिरामी रहेको थियो । बिहान केर्खाबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर विराटनगर आएका उनी बसपार्कमा झर्ने बेलामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।
युवक मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले बताउनुभयो । प्रहरीले मृतकको साथमा रहेको मोवाइल सहित अन्य सामाग्रीबाट प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।
सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।