कांग्रेस नेता रामचन्द्र पौडेलले लकडाउनका कारण अवरुद्ध भएको १४औँ महाधिवेशनको कार्यतालिकालाई पुनः सुरु गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक अर्चुअल अन्तर्क्रिया कार्यक्रममा पौडेलले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताएका हुन् । महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पौडेलले पार्टी भिजन र मिसनसहितको नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्ने बताए ।
पुँजीवादी र साम्यवादीहरू उपभोक्तावादी भइसके
विश्वभरका पुँजीवादी र साम्यवादीहरूले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको पौडेलले बताए । पुँजीवादी र साम्यवादीहरू उपभोक्तावादमा लागेकाले कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने उनको भनाइ थियो ।
पौडेलले पुँजीवादीहरू जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका वेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताए । साम्यवादीहरू पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेको बताए । उनले पुँजीवादी मुलुकहरू व्यक्ति पुँजीवादी बन्ने, तर साम्यवादीहरू राज्य पुँजीवादी बन्ने बाटोमा लागेको बताए । साम्यवाद रुस तथा पूर्वीयुरोपबाट धेरै अगाडि अन्त्य भइसकेको, तर अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुक राज्यलाई पुँजीवादी बनाउन लागेको बताए ।
पौडेलले गाउँको विकास, गाउँको उन्नति, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए । नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपाली बिदेसिनुपरेको उनले बताए । उनले कांग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलन गरेको वेलाजस्तोे श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको स्विकारे । पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म बिदेसिने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाउँ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए ।
महाकाली सन्धि कार्यान्वयन नहुँदा सुदूरपश्चिम पछि पऱ्याे
पौडेलले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए । उनले महाकाली सन्धिबारे प्रश्न उठे पनि महाकाली सन्धिमा कुनै राष्ट्रघात नभएको प्रस्ट्याए ।