भक्तपुर अस्पतालमा आइतवार राति मृत्यु भएकी सुत्केरीको महिलाको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि आज जिल्ला विपद व्यवस्थापन समितिको रोहवरमा उनको शवको व्यवस्थापन गरिएको छ । मृतक परिवारसँगको छलपल पश्चात मृतक महिलाको शव मंगलवार भक्तपुरका तीनवटै सुरक्षा निकाय र स्वयम सेवक अरुण सैजुको टोलीले शव व्यस्थापन कार्यविधि अनुसार पशुपति आर्यघाटको शवदाह गृहमा अन्त्येष्टि गरेको हो ।
सिन्धुपाल्चोकको लिसङखुपाखर वडा नं।३ स्थायी घर भइ हाल चाँगुनारायण नगरपालिका झैखेल बस्ने ३६ बर्षीय महिला सन्तमाया लामाको आइतबार राति सुत्केरी भएको केहि समयपछि मृत्यु भएको भक्तपुर अस्पताल जानकारी दिएको थियो ।
मृतक महिलाका आफन्तसँग आर्थिक अभाव भएपछि जिल्ला विपद व्यवस्थापन समितिलाई शव व्यवस्थपनको निम्ति सहयोग माग गरेपछि सुरक्षाकर्मीको टोली पुगेको विरदल गणका प्रमुख कर्णेल शिवप्रसाद पौडेलले बताउनु भयो ।
मृतक महिलामा कोरोना परीक्षण गर्दा दुई पटक आरडीटी पोजेटिभ देखिए पछि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । तीन पटक सम्म गरेको पीसीआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको भक्तपुर अस्पतालले जानकारी दिएको छ ।
सुत्केरी भएको केहि समयपछि मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकामा सोमवार र मंगलवार अस्पतालको सेवा बन्द गरेको थियो । अस्पतालले मृतक महिलाको सुत्केरीमा संलग्न चिकित्सक तथा सम्पर्कमा आएका आफन्तलाई खरीपाटी स्थित क्वारेन्टाईनमा राखेको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
मृतक महिलाको आफन्तको समेत कोरोना परीक्षणको लागि स्वाव संकलन गरि टेकु पठाएको छ । अस्पतालले सोमबार विज्ञप्ती मार्फत महिलाको सुत्केरी पछि अकस्मात स्वास्थ्यमा खरावी भई स्वाश प्रश्वासमा समस्या आएपछि अक्सिजन दिएर उपचार गर्दागर्दै उनको मृत्यु भएको जनाएको थियो ।