काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई दुई देशबीचको सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग सोमबार जापानका विदेश राज्यमन्त्री होरी इवाओले गरेको शिष्टाचार भेटका क्रममा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण र विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गरे।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोगमार्फत मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक जगेर्नामा उल्लेखनीय योगदान दिएको बताए। ती क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट नेपाल अझै लाभान्वित हुन चाहेको उनको भनाइ थियो।

नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस यात्रामा जापानको निरन्तर सद्भाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

नेपालका विकास प्राथमिकता भएका क्षेत्रमा जापानी लगानीका ठूलो सम्भावना रहेको बताउँदै उनले व्यापार सहजीकरण, विदेशी लगानी आकर्षण र नवप्रवर्तन प्रवर्द्धनका लागि कानुनी तथा संस्थागत सुधार गरिसकिएको जानकारी दिए।

दुवै देश गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको र बुद्ध जन्मस्थल लुम्बिनीले नेपाल–जापान जनसम्पर्कलाई बलियो बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले लुम्बिनी विकासमा जापानले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। साथै जापानमा रहेका नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्ध थप मजबुत बनेको बताए।

भेटका क्रममा जापानी विदेश राज्यमन्त्री इवाओले संविधान र लोकतन्त्रको रक्षाका लागि राष्ट्रपति पौडेलले खेलेको भूमिकाको अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको उल्लेख गर्दै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्र सुदृढीकरणका लागि जापानको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

उनले नेपालमा दिगो शान्ति र स्थायित्व क्षेत्रीय शान्ति र विकाससँग जोडिएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल होस् भन्ने जापानको अपेक्षा रहेको बताए। साथै बाढीले क्षतिग्रस्त काठमाडौं–सिन्धुली सडक पुनर्निर्माण तथा काठमाडौँ–कोटेश्वर क्षेत्रमा ‘अन्डरपास’ निर्माण गर्ने निर्णय भइसकेको जानकारी पनि दिए।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित चारदिने औपचारिक भ्रमणमा जापान पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!