
लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीमा अब कुनै गुट नभएको र जिम्मेवारी युवाको काँधमा आएको बताएका छन्।

पोखरा–८ सिमलचौरस्थित कास्की क्षेत्र नं २ को चुनाव प्रचारसम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेस सुशासन, समृद्धि र महँगी नियन्त्रणको अभियानमा सधैं अग्रसर रहेको र युवाका मागलाई सम्बोधन गर्दै पार्टी अगाडि बढ्ने बताए।
शर्माले भने, “नेपाली कांग्रेस खुला किताब हो, यहाँ प्रत्येक सदस्य स्वतन्त्ररुपमा आफ्ना गतिविधि गर्न सक्ने वातावरण छ।”
कास्की–२ बाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले कांग्रेसले युवाका मागलाई समेटेर अघि बढ्ने बताए भने क्षेत्रीय सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसप्रति जनता विश्वास गर्ने दाबी गरे।