
देउखुरी– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब क्यान्सरको उपचार उपलब्ध हुने भएको छ। आइतबार प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच हस्ताक्षर भएको सम्झौतापत्रअनुसार सेवा विस्तार र आवश्यक जनशक्तिको आदानप्रदान हुने भएको हो।

प्रतिष्ठानका उपकुलपति प्रा. श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले सम्झौतामा हस्ताक्षर गरे। डीन प्राडा रमेश कँडेल र सहनिर्देशक डा. उमेश नेपालको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।
यसअघि राप्ती अञ्चल र पश्चिम नेपालका नागरिकले काठमाडौँ वा चितवन जस्ता सहरमा महँगो शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यता थियो। अब सम्झौता कार्यान्वयनमा आएसँगै स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध हुने भएपछि समय र खर्चको बचत हुने विश्वास गरिएको छ।