
काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज यहा आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बर्ताए । “समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने ।

आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए ।
उनले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताए । उनले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताए । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उनको भनाइ थियो ।
उनले युवाले देशभित्रै रोजगारीको अवसर दिन कांग्रेस लाग्ने बताए । सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पु¥याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे ।
“मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिन, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भयाँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,” उनले भने ।
सभापति थापाले मधेसलाई काठमाडौँसँग जोड्न र मधेसको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको बताए ।कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेनजी आन्दोलनपछि बदलिएको कांग्रेसले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएको बताउँदै जितको लागि आम क्षेत्र नं ४ वासीको साथ र सहयोगको अपेक्षा गरे । रासस