
काठमाडौं — भाद्र २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण तथा काठमाडौं उपत्यका नछाड्ने गरी लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अनुसन्धानका लागि लिइएको पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का हटाइएको जानकारी दिएको हो।
यसअघि आयोगको बैठकले अनुसन्धानको दायरामा रहेका कारण पूर्व गृहमन्त्री लेखकलाई विदेश भ्रमणमा रोक लगाउने र काठमाडौं उपत्यकाबाहिर जान नदिने निर्णय गरेको थियो।
प्रतिबन्ध फुकुवासम्बन्धी निर्णयबारे आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय तथा स्वयं रमेश लेखकलाई बोधार्थ जानकारी पठाएको जनाएको छ।