काठमाडौं — माइतीघरमा विगत १० दिनदेखि आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै अनशनरत दुवैको स्वास्थ्य कमजोर हुँदै गएको उल्लेख गरेको हो। विज्ञप्तिमा उनीहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा वार्तामार्फत मागहरू सम्बोधन गरी जीवनरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो अनुगमनका क्रममा भुसालको रक्तचाप अत्यन्तै कम हुनुका साथै रगतमा चिनीको मात्रा घटेको पाइएको छ। विष्टको स्वास्थ्य अवस्था पनि चिन्ताजनक रहेको आयोगले जनाएको छ।
भ्रष्टाचारको छानबिन र कारबाहीलगायत विभिन्न माग राख्दै उनीहरू अनशनमा बसेका हुन्। स्वास्थ्य अवस्था कमजोर बनेपछि बुधबार नेपाल चिकित्सक संघको पहलमा दुवैलाई अस्पतालमा भर्ना गरिएको आयोगले जनाएको छ।




हिपमत डटकम


