
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएका छन्। बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानका आधारमा विशेष महाधिवेशन बोलाउने प्रक्रिया थालिएको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेस नेता अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री विश्वप्रकाश शर्मा सोमबार अपराह्न ४ बजे विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव लिएर पार्टी सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। ‘केन्द्रको तर्फबाट दुई महामन्त्रीको आह्वानमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी भएको जानकारी सभापतिलाई गराउन उहाँ जानुभएको हो,’ सिवाकोटीले भने।
नियमित महाधिवेशन समयमै नहुनु र विशेष महाधिवेशन पनि नबोलाउनु विधानविपरीत हुने भएकाले विधानले दिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान गर्न लागिएको सिवाकोटीले बताए। उनका अनुसार विशेष महाधिवेशन रोक्नु तर्कसंगत हुँदैन।
विशेष महाधिवेशनमा सबै कांग्रेस सहभागी हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नमा सिवाकोटीले हस्ताक्षर गर्ने–नगर्ने सबै महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने स्पष्ट पारे। ‘हस्ताक्षरकर्ताहरू त आउने नै हुन्छन्, हस्ताक्षर नगरेकाहरू पनि आएर सहभागी हुन, आफ्ना फरक मत राख्न पाउने व्यवस्था छ,’ उनले भने।