
म्याग्दी जिल्लामा प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ। सुन्तलाखेतीको क्षेत्रफल विस्तार र बजार मूल्यमा वृद्धि भए पनि उत्पादकत्वमा कमी आएपछि कुल उत्पादन घटेको हो।

कृषि विकास कार्यालय म्याग्दीका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन पाँच दशमलव ५६ प्रतिशतले कम भएको छ। कार्यालय प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष मौसम अनुकूल रहे पनि बोटमा दाना पातलो लागेकाले उत्पादनमा गिरावट आएको हो। उनले सुन्तलामा एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने प्राकृतिक चक्रका कारण यसपटक उत्पादन प्रभावित भएको बताए।
गत वर्ष ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष भने ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलव पाँच मेट्रिक टनका दरले करिब चार हजार ५१५ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ। प्रारम्भिक तथ्यांक किसानका बगैँचाको नमूना अध्ययनका आधारमा निकालिएको र सम्पूर्ण सुन्तला बिक्रीपछि वास्तविक विवरण संकलन गरिने बताइएको छ।
उत्पादन घटे पनि बजार मूल्यमा भने वृद्धि देखिएको छ। यस वर्ष सुन्तला प्रतिकिलो औसत ७० देखि ७५ रुपैयाँमा बिक्री भइरहेको छ, जुन गत वर्षको तुलनामा प्रतिकिलो करिब पाँच रुपैयाँले बढी हो। अनुमानित उत्पादन र औसत बिक्री मूल्यका आधारमा यस वर्ष म्याग्दीमा करिब ३१ करोड ६० लाख रुपैयाँ बराबरको सुन्तला कारोबार हुने कृषि विकास कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालयका अनुसार जिल्लामा कुल ८३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ लगायतका क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन्।
म्याग्दीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम बेनीसँगै काठमाडौँ, पोखरा, मुग्लिनलगायतका प्रमुख बजारमा बिक्री हुँदै आएको छ। यातायात सुविधा विस्तारसँगै व्यापारीहरू बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहका कृषि शाखाले सुन्तलाखेती प्रवर्द्धनका लागि बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, सिँचाइ तथा बजारीकरणमा निरन्तर सहयोग गर्दै आएका छन्।