
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा अब करिब ८० दिन मात्रै बाँकी रहेका छन्। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ प्रावधान समावेश गरेको छ।

आचारसंहिताअनुसार निर्वाचनसँग सम्बन्धित आम्दानी तथा खर्च अब अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ। साथै, सबै खर्चका बिल र भरपाई सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन खर्चको स्रोत पारदर्शी बनाउन यी व्यवस्था लागू गर्न लागिएको आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार राजनीतिक दल र उम्मेद्वारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा खर्च हुने अनुमानित रकम र त्यसको स्रोतसमेत खुलाउनुपर्नेछ।
उम्मेद्वारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ र सोही खातामार्फत मात्र खर्च गर्न पाइनेछ। साथै, उम्मेद्वारको तर्फबाट खर्च व्यवस्थापन गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।
तोकिएका पदाधिकारीको नाम, थर र विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ।
प्रस्तावित आचारसंहितामा राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने र दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत नै लिनुपर्ने उल्लेख गरिएको छ।