
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर गरिएको रिटमा आज शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दामा लगातार सुनुवाइ हुँदै आएको छ। विहीबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादवलगायतले दायर गरेको अर्को रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका काम नगर्न अंतरिम आदेश दिएको थियो।
संविधानको धारा १६८(२) बमोजिम नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने देखेपछि कात्तिक २२ मा प्रदेशसभामा राजीनामा गरेका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलका नेता भई एमाले प्रदेश संसदीय दलका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
बिरामी भएको बहानामा काठमाडौँ जान लागेको भन्दै महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा यादवलाई शपथ ग्रहण गराइएको घटना सार्वजनिक भएपछि भण्डारीले ठूलो आलोचना व्यहोर्नु पर्यो। त्यसपछि सरकारले उनलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो।
सरकारले नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेको छ।