
काठमाडौँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा वितरण गरिएका ग्रीन कार्ड (स्थायी आवास अनुमति) पुनः जाँच गर्ने निर्णय गरेको छ। अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेज (USCIS) का प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ग्रीन कार्ड प्राप्तकर्तामाथि कडाइका साथ पुनः मूल्यांकन प्रक्रिया सुरू गरिएको हो।

बीबीसीका अनुसार, जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियेरा लियोन, तुर्कमेनिस्तान र तोगोका नागरिक परेका छन्।
यो निर्णय वाशिंगटन डी.सी.मा केही दिनअघि भएको गोलीकाण्डपछि आएको बताइएको छ। उक्त घटनामा एक अफगान नागरिकले दुई जना नेशनल गार्डमाथि गोली चलाएको आरोप लागेको थियो, जसमा एक गार्डको मृत्यु भएको थियो।
पक्राउ परेका रहमानुल्लाह लकनवाल सन् २०२१ मा “विशेष आप्रवासन कार्यक्रम”मार्फत अमेरिकामा पुगेका थिए। यो कार्यक्रम अफगानिस्तानबाट अमेरिकी सेना फिर्तिएपछि जोखिममा रहेका अफगान नागरिकलाई संरक्षण दिने उद्देश्यले सुरु गरिएको थियो।