
प्रेम केडि , पथरी ।
मोरङ पथरीशनिश्चरेकी २६ वर्षीया विनिता कार्की नेपाली फिल्म र मोडेलिङ क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेकी एक उत्साही र मेहनती कलाकार हुन् । खोटाङमा जन्मेकी उनी बाल्यकालमै पथरी आइन् र यहीँबाट उनको अध्यन र कलाको यात्रा सुरु भयो।

प्रारम्भिक शिक्षा श्री केबी मेमोरियल अंग्रेजी बोर्डिङ स्कुलबाट पूरा गरेपछि उनले हात्तीवन, ललितपुरस्थित आईजे पायोनियर कलेजमा उच्च माध्यमिक पढिन्। पछि उच्च अध्ययनका लागि अष्ट्रेलिया गइन् र न्यू एजुकेशन सिड्नीबाट स्नातक गरिन ।

५.७ फिट उचाइ, आत्मविश्वासपूर्ण उपस्थिती र स्वाभाविक अभिनयले बिनितालाई दर्शकले चाँडै चिनेका छन्। मोडेलिङमार्फत आफ्नो यात्रा सुरु गरेकी उनले डेब्यू फिल्म ‘पिआर’ बाट नेपाली फिल्म क्षेत्रमा औपचारिक प्रवेश गरिन्। पहिलो फिल्ममै देखाएको उनको सहज अभिनय र पर्दामा देखिने उनको चमकले धेरैलाई खिच्यो ।
अनुशासित र लक्ष्यप्रति केन्द्रित स्वभावकी बिनितालाई फुर्सदमा यात्रा, किनमेल र नयाँ परिकार पकाउन मन पर्छ। परिवारिक पृष्ठभूमिबाट आएको संस्कार र आधुनिक जीवनशैली बीच सन्तुलन राख्ने उनी आफ्नो काम र व्यक्तित्व दुवैमा सरलता देखिन चाहन्छिन् ।

फिल्म र मोडलिङ दुवैमा सक्रिय बिनिता कार्की नेपाली मनोरञ्जन क्षेत्रमा उदाउँदै गरेकी एक सम्भावनायुक्त अनुहार हुन्। निरन्तरता, मेहनत र आत्मविश्वासका आधारमा उनले भविष्यमा अझै बलियो उपस्थिति जनाउने संकेत स्पष्ट देखिन्छ। उनलाई उज्ज्वल भविष्यको शुभकामना !!!