
काठमाडौँ । सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा निर्माण भएका संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ। नेपाल स्काउटले आज सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको छ।

खानी विभागसँग सिमाना जोडिएको करिब ३ रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्टबीच २०७५ सालमा भएको सम्झौता सकिए पनि, मुद्दा मामिलाका कारण कम्पनीले अझै भोगचलन गरिरहेको स्काउटले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमार्फत मुचुल्का गरी सिलबन्दी गरिए पनि, कम्पनीले त्यसको अवहेलना गरेपछि बक्यौता तिर्न सात दिनको अल्टिमेटम दिइएको हो। अन्यथा, जग्गामा रहेका सबै भवन र सामान जफत गरी बक्यौता रकम घर–जग्गा वा सम्पत्तिबाट असुल गरिने चेतावनी स्काउटले दिएको छ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको स्वामित्वमा रहेको बताइएको छ।