
विराटनगर, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी नआओस् भनी महानगरले पूर्ण क्षमता र संसाधनसहित काम गरिरहेको बताएका छन्। सोमबार बिहान मेयर कोइरालाले रेडक्रस, राउण्ड टेबल, अग्रवाल सेवा समाज लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूसँगको बैठकमा उद्धार र राहत वितरण कार्य निरन्तर जारी रहेको जानकारी दिए।

महानगरपालिकाको पहलमा सोमबार बिहान अग्रवाल सेवा समितिको सहयोगले बाढीपीडितका लागि निःशुल्क बिहानको खाना वितरण गरिएको थियो भने मेयर कोइरालाको नेतृत्वमा आज बेलुकाको खाना राउण्ड टेबलले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यसैगरी, रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने तयारी गरेको छ।
मेयर कोइरालाले विभिन्न संघसंस्थासँग मिलेर राहत तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन समन्वय गर्दै आएको बताएका छन्। उनका अनुसार, बाढीपीडितको स्वास्थ्य र सुरक्षामा कुनै पनि प्रकारको कमी नहोस् भन्ने उद्देश्यका साथ सबै पक्ष सक्रिय छन्।