
उनका अनुसार आन्दोलनको क्रममा आगजनीबाट घर, संग्रहालयझैँ जोगाएर राखिएको पुर्ख्यौली संरचना, र गाडीसमेत नष्ट भएको छ। “मैले राजनीतिमा कुनै गलत काम गरेँ भन्ने प्रमाण छैन, तर पनि मेरो परिवारको सम्पूर्ण थाती जलाइयो,” खड्काले भावुक हुँदै भने।

उनले काठमाडौंमा आफ्नो नाममा कुनै घर वा जग्गा नरहेको प्रस्ट्याउँदै भने, “म बुहारी सञ्जु डाक्टर र भाइ डम्बर खड्काको ससुरालीले बनाइदिएको घरमा बस्दथें। त्यो घर पनि जलाइयो। त्यो मेरी बुहारी सञ्जुको सपनाको मन्दिर थियो।”
खड्काले आमाले ४० वर्षअघि बनाइदिएको पुरानो घरलाई संग्रहालय झैं जोगाएर राखेको स्मरण गर्दै भने, “बुबा–आमाका कपडादेखि शयनकक्षसम्म जस्ताको तस्तै राखेका थियौँ, त्यो घर पनि जलाइयो।”
सवारी साधनको सन्दर्भमा उनले थपे, “मैले सुविधाको गाडी लिएको थिएँ, तर पछि बेचिदिएँ। अहिले भाइ विष्णुले पठाइदिएको गाडीमा हिँड्छु। एउटा समय थियो, म ट्याक्सीमै यात्रा गर्थें।”
आन्दोलनको नाममा भएको आगजनी र तोडफोडले आफू मात्र नभई धेरै निर्दोष नागरिकहरू पीडित बनेको भन्दै खड्काले गम्भीर छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।
उनले आन्दोलनमा समावेश युवा पुस्ताले हिंसा चाहेका होइनन् भन्दै पछाडिबाट योजनाबद्ध रूपमा हिंसात्मक परिस्थिति सिर्जना गरिएको दाबी गरे। “नेपालको इतिहासमै पहिलोपटक सम्पूर्ण राज्य संरचनामाथि यति बर्बर आक्रमण भएको छ,” उनले भने, “यो सामान्य आन्दोलन थिएन, गम्भीर षड्यन्त्र थियो।”