
वीरगञ्ज, असोज ९ — वीरगञ्ज महानगरपालिका–१३ स्थित वेल्वाको भेडाहा खोलाको किनारमा नेपाली सेनाको श्रीजङ्ग गणले वृक्षारोपण कार्यक्रम सुरु गरेको छ। खोलाको कटान बढ्दै गएको क्षेत्रमा भूसंरक्षणको उद्देश्यसहित बाँसको बिरुवा रोप्ने अभियान बिहीबारदेखि सुरु गरिएको हो।

गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार, श्रीजङ्ग गणको तालिम इलाका आसपासको करिब चार किलोमिटर लामो नदी तटीय क्षेत्रमा बाँस रोप्ने योजना बनाइएको छ। “१५ मिटरको दूरीमा गरी करिब ६ सय वटा बाँसका बिरुवा असोज महिनाभर रोप्नेछौँ,” सेनानी कार्कीले बताए।
उनका अनुसार बाँसको जराले जमिनलाई मजबुत बनाउन सहयोग गर्ने भएकाले यसले नदीको धार परिवर्तन तथा कटान रोक्न मद्दत पुर्याउने विश्वास गरिएको छ। “यस अभियानबाट एकातर्फ पर्यावरण संरक्षणमा योगदान पुग्नेछ भने अर्कोतर्फ बाढी र कटानजस्ता प्राकृतिक समस्याको रोकथाममा पनि प्रभाव पर्नेछ,” उनले थपे।
सेनाले सञ्चालन गरेको यो अभियान भेडाहा खोलासहित अन्य संवेदनशील नदी किनारमा समेत विस्तार गर्ने योजना बनाइएको जनाइएको छ।