
काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले हाल देखिएको जेन–जी आन्दोलन माओवादीले जनयुद्धको मार्ग बिर्सिएपछि उत्पन्न भएको दाबी गरेका छन्।

काठमाडौंको प्रज्ञा भवनमा जारी सातौं केन्द्रीय समिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै शर्माले नेकपा एमाले र नेपाली कांग्रेस पहिले नै भ्रष्टाचारमा फसेको बेला माओवादीले पनि त्यही बाटो समात्दा जनतामा निराशा फैलिएको उल्लेख गरे।
“कांग्रेस र एमाले बिग्रिएका कारण जनयुद्ध सुरु गरिएको थियो,” शर्माले भने, “तर अहिले माओवादी पनि त्यही दिशामा गएको देख्दा जनतामा गहिरो असन्तोष पैदा भयो। त्यही असन्तोष जेन–जी विद्रोहमा परिणत भएको हो।”
उनले पार्टीभित्र सुधारका लागि गम्भीर कदम चाल्नुपर्ने भन्दै सबै पदाधिकारीले राजीनामा दिनुपर्ने माग गरे। साथै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ निर्देशक समिति यही बैठकबाट गठन गर्नुपर्ने प्रस्ताव समेत राखे।