
पर्सा – वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी (ICCP) र सुक्खा बन्दरगाहमा जम्मा १७९ वटा चारपाङ्ग्रे सवारीसाधन थन्किएका छन्। भन्सार जाँचपासको प्रक्रिया नसकिएर ती सवारीसाधन यार्डमै रोकिएका हुन्।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, एकीकृत जाँचचौकीमा ७५ थान र सुक्खा बन्दरगाहमा १०४ थान सवारीसाधन रहेका छन्।
उनले भने, “आयातकर्ताले चाडपर्व लक्षित गर्दै सवारीसाधन भित्र्याएका छन्। भन्सारको यार्डमा रहेका ती सवारी क्रमशः जाँचपास प्रक्रियामा अघि बढ्दैछन्।”
कार्यालयका अनुसार, सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा सवारीसाधनको भन्सार प्रक्रिया अगाडि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीहरूका लागि पनि आवश्यक प्रक्रिया प्रारम्भ गरिएको छ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै रु ७ अर्ब १६ लाख बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ अर्ब ७५ करोडले बढी हो।
गत आवको पहिलो दुई महिनामा रु ५ अर्ब २५ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए।