तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आइतबार दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले विशेष परिस्थिति र विश्वासका आधारमा प्राप्त पदलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने आश्वासन दिइन्।
मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई केवल कर्मचारी सरुवा, बढुवा जस्ता काममा सीमित नराखी नीति निर्माण र सङ्घीय शासन प्रणालीलाई सुदृढ गर्ने केन्द्रको रूपमा अघि बढाइने बताइन्।
उनका अनुसार मन्त्रालयको मूल उद्देश्य नीतिगत सुधार र संस्थागत प्रभावकारिता बढाउने हो। मन्त्रालयलाई ‘नीतिगत रूपमा चल्ने’ संरचनामा रूपान्तरण गर्नु आफूले लिएको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ।
मन्त्री न्यौपानेले कर्मचारी तथा सेवाग्राहीका गुनासा सम्बोधन गर्न ‘गुनासो सुनुवाइ केन्द्र’ स्थापना गरिएको जानकारी दिँदै सो केन्द्र प्रभावकारी रूपमा सञ्चालनमा आएको पनि उल्लेख गरिन्।