काठमाडौं — पाकिस्तानको कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का पछि २०० भन्दा बढी कैदी भागेका छन्। सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनका अनुसार कुल २१६ जना फरार कैदीमध्ये हालसम्म ८७ जनालाई पुनः पक्राउ गरिएको छ, भने बाँकी अझै फरार छन्।
कैदीहरू भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीहरू पनि रहेका छन्। मेमनका अनुसार घटना स्थानीय समयअनुसार बिहान करिब साढे १ बजे भूकम्पको झट्कापछि भएको हो। “भूकम्पका कारण कैदीहरूमा त्रास फैलिएको थियो,” उनले बताए।
घटनापछि प्रान्तीय सरकारले जेल सेवा प्रमुखलाई पदमुक्त गरेको छ। पाकिस्तानका जेलहरू प्रायः अत्यधिक भीड, कमजोर संरचना, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका घटनाका कारण आलोचित हुँदै आएका छन्। ढिलो न्यायिक प्रक्रियाका कारण धेरै कैदीहरू वर्षौँसम्म थुनामै बस्न बाध्य हुने गरेको उल्लेख गरिएको छ।
सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले एएफपीसँगको कुराकानीमा कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पीय धक्का मापन गरिएको जानकारी दिए।