हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 70121  पटक पढिएको

काठमाडौ। काठमाडौँ महानगरपालिकाले नक्सा पासबिनाका संरचना भत्काउन थालेपछि सर्वसाधारणले आफ्ना क्षेत्रभित्रका अनधिकृत संरचना हटाउन सुरु गरेका छन् ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले अभियान सुरु भएपछि महानगरवासीले स्वयं आफ्ना क्षेत्रमा परेका अवैध संरचना हटाउन÷भत्काउन सुरु गरेको जानकारी प्राप्त भएको बताउनुभयो । यस क्रममा बानेश्वरमा यूएफओ ब्रान्डलगायतका पसल चलिरहेको व्यावसायिक भवनको सञ्चालकले पार्किङ क्षेत्र खाली गर्न थालेको सूचना प्राप्त भएको उहाँले बताउनुभयो । महानगरले यसअघि नै अनधिकृत रूपमा संरचना निर्माण गरेका र पार्किङ गर्ने ठाउँमा पसल सञ्चालन गरेकालाई यस्तो संरचना हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ ।

राहदानी विभागको ‘बेसमेन्ट’ खाली गराइयो

अभियानअन्तर्गत त्रिपुरेश्वरस्थित राहदानी विभागको भूमिगत तला (बेसमेन्ट) खाली गराइएको छ । सुरक्षाकर्मीसहित शुक्रबार विभागको कार्यालय पुगेको महानगरको टोलीले ‘बेसमेन्ट’ खाली गराएको हो ।

काठमाडौँका महानगरका प्रहरी प्रमुख पाण्डे नेतृत्वमा पुगेको सुरक्षाकर्मीसहितको टोलीले त्यहाँ राखिएका कुर्चीलगायतका सामान हटाएर ‘बेसमेन्ट’ खाली गरेका थिए । नक्सा पासअनुसार पार्किङका रूपमा प्रयोग हुुनुपर्ने सो ‘बेसमेन्ट’ प्रतीक्षालयका रूपमा प्रयोग हुँदै आएको थियो ।

दैनिक हजारौँको सङ्ख्यामा सेवाग्राही आउने राहदानी विभागमा पार्किङको व्यवस्था नभएपछि जथाभावी पार्किङ गर्दा त्रिपुरेश्वर, थापाथली, टेकुलगायतको क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सेवाग्राही आसपासका गल्ली तथा बागमती नदीपारि ललितपुरको कुपण्डोलसम्म पार्किङ गर्न बाध्य थिए ।

प्रहरी प्रमुख पाण्डेले निजी क्षेत्रका व्यवसायीभन्दा पहिला सरकारी निकाय जिम्मेवार हुनुप¥यो भन्ने सन्देश सर्वसाधारणमा प्रवाह होस् भन्ने उद्देश्यले विभागको ‘बेसमेन्ट’ खाली गराइएको बताउनुभयो । महानगरले खाली गराएको केही घण्टापछि नै राहदानी विभागले विज्ञप्ति जारी गर्दै सेवाग्राहीको पार्किङका लागि सो ‘बेसमेन्ट’ खुला गरिएको जानकारी दिएको छ । विज्ञप्तिअनुसार विभागले भदौ (१२) देखि पार्किङ खुला गर्नेछ ।

यसैबीच महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा महानगरको अभियानबारे बोल्नुहुँदै “चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्,” भन्नुभएको छ । उहाँले यसलाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नुभएका प्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले अगाडि भन्नुभएको छ, “अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सधँै रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला ।”

सबै वडामा भूमिगत पार्किङको अनुगमन

महानगरका अनुसार ३२ वटै वडामा भूमिगत पार्किङको अनुगमन भइरहेको र सोहीअनुसार अभियान सुरु गरिएको छ । महानगरपालिकाले अनुगमनको जिम्मेवारी सम्बन्धित वडा कार्यालयलाई दिएको छ ।

पार्किङका लागि बनाएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेे करिब तीन सय भवन कारबाहीको सूचीमा रहेका छन् । पार्किङसहितको नक्साअनुसार निर्माण भएका भवनमा पार्किङ सञ्चालन आएको अवस्थामा महानगरभित्रको २५ प्रतिशत पार्किङको समस्या समाप्त हुने महानगरको भनाइ छ ।

यो खबर आजको गोरखापत्रमा भउचप्रसाद यादवको नाममा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!