काठमाडौं। साफ यु-२० फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल खेल्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको दिउँसो सबा चार बजे सामना गर्नेछ ।
नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
माल्दिभ्स र श्रीलंका १–१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।