नयाँदिल्ली । दिल्ली हिंसाप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भारतको लागि महात्मा गान्धीको विचार पहिलेभन्दा बढी आवश्यक भएको बताएका छन् ।
गुटेरसका प्रवक्ता स्टेफन दुजारिकले बिहीबार पत्रकारसँगको कुराकानीमा दिल्ली हिंसामा भएको हताहतीबाट संयुक्त राष्ट्र संघका महासचिव ‘धेरै दुःखी’ रहेको जानकारी दिए ।
उनले हिंसाका घटनामा अत्यधिक संयम अपनाउन अपील पनि गरेका छन् ।
दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा भड्किएको साम्प्रदायिक हिंसा विगत केही दिनदेखि जारी छ ।
दुजारिकले भने, ‘दिल्लीमा विरोध प्रदर्शनपछि मानिसको हताहती भएको रिपोर्टबाट संयुक्त राष्ट्र संघका प्रमुख निक्कै दुःखी छन् । उनले हिंसालाई रोक्नको लागि अधिकतम संयम अपनाउन अपील गरे ।’
उनले भने, ‘महासचिव गुटेरस जीवनभर गान्धीको विचारबाट प्रभावित रहे । आज गान्धीको विचार पहिलेभन्दा बढी आवश्यक देखिएकाो छ, यो समुदायबीच मेलमिलाप कायम गर्न अनिवार्य छ ।’
यसअघि दुजारिकले नयाँ दिल्लीको परिस्थितिमा गुटेरस नजिकबाट ख्याल गरिरहेको र प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शनको अनुमती दिनुपर्ने र सुरक्षाबलले संयमता अपनाउनुपर्ने बताए ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बिहिबार सुरक्षा निकाय हिंसा रोक्न, विश्वास पुनरवहाली गर्न र स्थिति सामान्य बनाउन काम गरिरहेको बताएका छन् ।
दिल्लीमा नागरिकता संशोधन विधेयकलाई लिएर भड्कीएको हिंसामा हालसम्म ४० भन्दा बढी मानिसको मत्यु भएको छ भने ३०० बढी घाइते भइसकेका छन् ।