हिपमत डटकम

आइतबार, जेठ २९, २०७९ || 2479  पटक पढिएको

विराटनगर। विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।

विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगर के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट ६ वटा महानगरमध्ये सबैभन्दा पुछारमा पुगेको छ,” उनले भने, “वास्तवमा भन्नुपर्दा विराटनगरको पहिचान के हो त ?, विराटनगरको पहिचान झल्किने किसिमको योजनासहित बजेट ल्याउनुपर्छ ।

त्यो पहिचान झल्किने आर्ट ग्यालरी पनि हुनसक्छ र ल्याएका योजना कार्यान्वयन पनि हुनुपर्छ ।” विश्वका हरेक ठूला सहरमा आर्ट ग्यालरी हुने उनको भनाइ थियो । सहरको स्तर कस्तो छ भनेर त्यहाँ हुने आर्ट ग्यालरी, सांस्कृतिक संग्राहलय, पुस्तकालयले प्रस्ट हुने श्रेष्ठले बताए । उनले महानगरको अनावश्यक खर्च घटाउन सुझाव दिए । उनले प्रशासनिक खर्चलाई कम गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । त्यस्तै बुद्धिजीवी तारानाथ निरौलाले भौतिक निर्माणसँगै खानेपानी, सरसफाईमा बजेटले ध्यान दिनुपर्ने सुझाव दिए । निरौलाले २० वर्षपछिको विराटनगर कस्तो हुने भनेर खाका तयार पानुपर्नेमा जोड दिए ।

मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले करको दर घटाएर दायरा बढाउनुपर्नेमा जोड दिए । “व्यापार व्यवसायमा मात्रै होइन, अन्य धेरै क्षेत्र करको दायरामा आएका छैनन्,” साहले थपे, “मलाई लाग्छ, वकिल, चार्टर एकाउन्टेनहरू पनि करको दायरामा नआएको हुन सक्छ उनीहरू सबैलाई दायरामा ल्याउनुपर्छ ।”

उनले लोप हुन लागेका व्यवसायलाई नगद अनुदान दिएर संरक्षण गर्न आग्रह महानगरसित आग्रह गरे । “माटोको भाँडा र बाँसबाट विभिन्न वस्तु बनाउनेहरू पलायन हुँदै गइरहेका छन्,” उनले भने, “उनीहरूलाई केही अनुदान दिएर पनि संरक्षण गर्नुपर्छ । उनीहरूसँगै हाम्रो नेपालको कला, संस्कृति पनि लोप हुँदै गएको छ ।” होटल व्यवसायीहरूले निश्चित क्षेत्र तोकेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिए । सहभागी अधिकांशले सडक, खानेपानी, सरसफाईसँगै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट ल्याउन सुझाव दिएका थिए । वीरेन्द्र सभागृह छेउको इको फनपार्क सञ्चालनमा नआएकोमा सहभागीहरूले गुनासोसमेत गरेका थिए ।

सहभागीहरूको सुझाव सुनेपछि मेयर नागेश कोइरालाले विराटनगरवासीकै हितमा बजेट आउने बताए । उनले विगतमा सुरु भएका अधुरा कामलाई निरन्तरता दिँदै नयाँ योजनाका साथ बजेट आउने उल्लेख गरे । “तपाईंहरूबाट अत्यन्तै राम्रा सुझावहरू आएका छन्,” कोइरालाले भने, “यिनै सुझावहरूलाई समेटेर हामी बजेट ल्याउनेछौं । इको फनपार्कको सम्बन्धनमा भोलि–पर्सि नै हामी मिटिङ राखेर सञ्चालनमा ल्याउँछौं ।” उपमेयर शिल्पा कार्कीले सहभागीहरूबाट आएका सुझावलाई आत्मसाथ गरेर बजेट ल्याउने प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सहभागीहरूबाट महत्वपूर्ण सुझाव आएको बताउँदै बजेट निर्माण गर्दा सुझावहरूलाई समेट्ने बताए । छलफलमा नागरिक समाज, उद्योगी, व्यवसायी, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!