दार्चुला, २७ जेठ। शैल्यशिखर नगरपालिका-१ बारील बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका प्रतिवादी सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज खडायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरबाट ५० मिटर टाढा उखु बारीमा खरको थुप्रोमा जलेको अवस्थामा गत बुधबार अनिभाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय बैतडीको समन्वय र सहकार्य ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुला र प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई बैतडी दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरेको हो ।
भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गर्ने विषयमा उनीहरूबीच विवाद हुँदा ढुङ्गा हानी घरतर्फ जाँदै गर्दा मृतकको छोरीले देखेकोले आफ्नो पोल खुल्ने डरले पुन: घटनास्थल गई खरले छोपी आगो लगाई घटनास्थलबाट भागी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थान समेत प्रहरीले बरामद गरेको छ ।
उनी उपर जवरजस्ती करणी, ज्यान सम्बन्धी कसूर र डाँका चोरी शीर्षक मुद्धामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।