मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका–४ मा एमालेले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । सोमबार ५ बजेदेखि मतगणना रोकिएको छ भने मतगणना स्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
बुढीगंगा गाउँपालिकाको १, ४ र ७ नम्बर वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नम्बर वडामा एमालेले जितेको छ । ४ नम्बर वडाको मत परिणामलाई लिएर एमालेले विवाद गरेको हो ।
आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा–४ मा नेपाली काँग्रेसका उम्मेदवार शशीकान्त चौधरीले ११ मतान्तरले अध्यक्षमा जितेका थिए । चौधरीले ८१९ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सागर बरालले ८०८ मत पाएका थिए ।
४ नम्बर वडामा १३ मत हराएको भन्दै एमालले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । मत गणनास्थल बाहिर होहल्ला भएपछि गणना रोकिएको निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।
अन्तिम मत परिणाम आइसकेको स्थानमा कुनै पनि हालमा पुनः गणना नहुने उनले बताए । ‘हामीले सबै दलका प्रतिनिधिहरूलाई राखेर गणना गरिएको हो,’ उनले भने, ‘अहिले आएर पुनः गणना गर्न सकिँदैन ।’