
सिन्धुपाल्चो। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको नेकपा (माओवादी केन्द्र) बाट युवा नेत्री अस्मिता बि.कले उपमेयरमा निर्विरोध दाबी गरेकी छन् । राजनीति क्षेत्रमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा साँगाचोकगढीको उपमेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सर्वहारा वर्गको, महिलाको हक अधिकारको सुनिश्चितताको लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको उनले समखबरसँग बताइन् । विद्यार्थीकालदेखि नै पार्टीको निरन्तरतासँगै विभिन्न संघसंस्थामा रहेर समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गरेकी अनुभवका आधारमा उपमेयरमा दाबी गरेको उनी बताउँछिन्।
राज्यले महिलाका लागि कोटा निर्धारण गरे पनि महिलाले पुरुषसरह खुला प्रतिस्पर्धा गर्न सक्छन् भनेर आफू उपमेयरमा उठ्न लागेको उनले बताइन् । दलित महिला वडा सदस्यमै बस्नुपर्छ भन्ने छैन, काम र अनुभवका आधारमा मैले उपमेयर बन्ने आकांक्षा राखेकी हुँ। अहिले उनी विभेदविरुद्धका विभिन्न सामाजिक काममा संलग्न छिन् ।
देश र जनताको हकहितको लागि सधैँ आफूभन्दा देश र जनतालाई अगाडि राखेर राजनीति गर्ने उनी बताउँछिन् । सामाजिक अभियानका क्रममा आफूले सिकेका कैयौँ अनुभवलाई आफूले राजनीतिका माध्यमबाट आफ्नै माटोमा प्रयोग गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।
अध्ययनशील, सूचना प्रविधिको राम्रो ज्ञान भएकी, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएकी, नयाँ सोच र विचार भएकी, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्तो राम्रो मान्छे नगरपालिकाको नेतृत्वमा आउन चाहनु सकारात्मक कुरा भएको स्थानीयहरु बताउँछन् ।