
दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका काँग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएको हो ।

दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा काँग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।
बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए । काँग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।
६१ वडामध्ये ४४ मा काँग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबण्डा दिने तय गरिएको उनको भनाइ छ । २०७४ को निर्वाचनमा काँग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।