
विराटनगरलाई कर्मथलो बनाउँदै आएका साहित्यकार लोचन रिजालको चौथो कृतिको रुपमा ‘चन्द्रलोचन’ गजलसङ्ग्रह ०७८ बजारमा आएको छ । प्रकाशक पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरको ९१ औँ प्रकाशमाला हो । ले–आउट तुलसी डेक्सटप, विराटनगर–९, मुद्रक गजुरमुखी प्रिन्टर्स, विराटनगर, मूल्य १५०।–, समर्पण स्रष्टा रमाप्रसाद रिजाल जो गजलकारका काका भएको हुँदा निजलाई नै समर्पण गरिएको छ ।
यो अग्रजप्रतिको सम्मान हो । कभर बाहेक ८९ पेज छ, वाहिरी आवरण अगाडिपट्टि माथि पूर्ण चन्द्रमा, मुनिबाट हिमाल, गुलाफका थुङ्गा र अरु फूलहरुले आवरण राम्रो देखिएको छ, पुस्तकको ओज राम्ररी झल्किएको आकर्षक रहेको छ ।
प्रकाशकीयको तर्फबाट विवश पोखरेल अध्यक्ष पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, ‘चन्द्रलोचन

’ यो आयो भनी वरिष्ठ साहित्यकार बलराम पोखरेल, शुभेच्छा भनेर स्रष्टा रोहिणी रसिक, शुभकामना गजलगोलाई भनेर वरिष्ठ गजलकार मधु पोखरेल, त्यसैगरी स्रष्टाद्वय रामबावु दाहाल र वरिष्ठ गजलकार हरि कट्टेलसमेतले नौ पेज लेख्दै गजलमय तरिकाले समीक्षात्मक ढङ्गबाट राम्रो मूल्यांकन गरिएको छ ।
मेरो भन्नु यति नै भनी स्वयम् गजलकारले दुई पेज लेख्दै गजलकै लयमा धेरै साथीहरुलाई सम्झँदै मेरो कुरो टुङ्गियो भनिएको छ । यसभित्र सुन्दर राम्रा ६४ थान गजलले सजिएका छन् जुन पढेपछि नै यसको रसस्वादन गर्न सकिन्छ ।
गजलसङ्ग्रहभित्रका गजल चार सेरदेखि छ सेरसम्मका छन् । गजल क्रmममा सूत्रात्मक रुपमा शीर्षक उल्लेख गरिएको छ । गजलको बिजको रुपमा पहिलो अक्षर यसप्रकार रहेको छ – झ्यालै या…, कति कति, चकचक ज्यादा, अलि अलि, मगज पनि त, पुगे म सत्तरी, म मस्त थें, दिनै त बग्छ, त्यो मेघले, को हौ तिमी, गर्मी भयो, केही थिएन, बिम्ब नै मात्र, प्रेमको पाशले, जोखाना हेर्दथेँ, खाउ लौ, काकोल अैले, आराम खोज्ने, सङ्लो छ, छोडौँ कि, सेते यहाँ, कतै कर्ज, बसन्ती, गरिस् काम, बित्यो काल, तिमी शक्ति, टुटेको छ, थिए साथ, चरी नेक मैना, म मी, शशी यो, डराको छ, म उन्मत, खुला नै छ, मनैमा कुरा, कसैले मुसार्यो, दियौ मान, यही एक कौशी, गरी खान, म देख्थेँ लुते नै, सुगन्धा छ, डुबी जान आँटे, फँयक्याएर सुर्ती, लुकाएर माया, यहाँ पुष्प, दशैँ यो दशा, मसाने वनैमा, उठो मेघ, छ यौटा विरोधी, थियो काम, सबै पात हाँगा, जमेथेँ म अन्तै, सयौँ पल्ट, चाँदी, थुपारेर प्युरी, उही जुन जस्तै, नियानो छ, तिमीले मलाई, अहो ! चाँद, म हिँड्दिन, पुगौँ जो र, वहाना बनाई, छ त्यो मेघ, चारो टिप्ने, मेरो त घर … । भन्दै गजल सङ्ग्रहलाई पूर्णता दिएको छ ।
स्रष्टाहरू जीवनका तीता मीठा भोगाइलाई गजल सिर्जनाका फाँट र गरामा रोप्छन् र फव्रmाउँछन् साहित्यका सुन्दर माला तयार पार्छन् जसलाई पाठकले मन पराउँछन्, गजलभित्र प्रणय, मयाप्रिती, चारैधाम, धर्मकर्म, अहिंसा, अन्य धेरै कुरा रहेका छन् । सङ्ग्रह राम्रो रुपमा आएको छ ।
मानव जीवनको हरेक पक्ष, समय र प्रकृतिसँग साहित्यको निकट सम्बन्ध रहेको हुन्छ । समग्र रुपमा भन्नुपर्दा साहित्य जीवनको प्रतिक्षा हो । लोचन रिजालले पनि समय सापेक्ष आफ्ना भावहरुलाई गजलमा उतार्नु भएको पाइन्छ ।
गजलमा व्यङ्ग्य छ, छिमेकी उपर लेखिएको छ, देशको प्रगतिमा किन टाँग लायौ भनिएको छ । सियो भएर पस्ने फालिवनेर प्रभाव देखाउनेलाई व्यङ्ग्य गरिएको छ । खोला, नदी, वनतिरै, नजरै गडाएको प्रसङ्ग झल्किएको पाइन्छ, भाव गम्भीर्य छ, बोध गम्य छ । प्रायः सबै गजलहरु राम्रा छन् यो मेरो विचार हो ।
गजलको उत्पत्ति फारसी भाषाबाट भई अरबी, उर्दू र हिन्दी हुँदै नेपाली भाषामा पनि लोकप्रिय हुँदै विकसित भएको पाइन्छ । उनका गजलमा गेयात्मकतामा पनि राम्रो शिल्पशैलीले सुसज्जित भई सुललित छन् । मालीले बगैँचामा खनी खोस्री गरी मलजल हालेर सुन्दर फूल फुलाएझैँ यी गजलकारले पनि सुन्दर फूलरुपी गजल पस्केका छन् । यिनका गजलले पाठकको मनलाई अलि बेग्लै तर मीठो स्वाद पस्केर चखिलो भाव पस्कदै लठ्ठ बनाउने छन्, यो मेरो ठम्याइ हो ।
गजल पैतालिसमा ‘चन्द्रलोचन’ अन्तिम सेरमा पढ्न पाइन्छ । आफ्नी जीवनसङ्गिनी समेतको नाम समेटेर यो सङ्ग्रहको नामकरण गरिएकोले ‘चन्द्रलोचन’ शीर्षक सार्थक भएको छ । गजल सबैका लागि लोकप्रिय विधा बनेको छ । गजलको लयात्मकताका लागि बहर आवश्यक छ, रिजालको गजल शास्त्रीय छन्दमा आएको छ । लोकलय हुँदै सिङ्गारिक छ, संरचनागत विशिष्टता देखिन्छ ।
शिल्प राम्रो छ, पाठक आकर्षक हुने नै छन् । देशभक्ति, निरासा पनि छ, भोक, रोग र शोक उत्पिडन पनि छ । अन्याय अत्याचारका विरुद्धमा उर्लेको छ, विदेश पलायन प्रवृत्तिलाई उठाइएको छ, धार्मिक बिम्ब र मिथकको प्रयोग छ, विविध विषय र भावमा गजल बगेको छ । केही कमी कमजोरी अवश्य छ नै म त्यतापट्टि लाग्दिन तर पनि संरचनात्मक रुपमा गजलसङ्ग्रह राम्रो ढङ्गबाट आएको छ ।
गजलका बुनोटको सन्दर्भमा विस्तृत छलफल चलिरहेको बेला पिङ्गल–छन्दहरुलाई आधार मानेर सङ्ग्रहका रुपमा गजल प्रस्तुत गर्न प्रयत्न गर्नु नै उनको यो गजलसङ्ग्रह ‘चन्द्रलोचन’ को वैशिष्ठय हो ।